ई-मधेश न्युज
जसपाको आग्रह– परिवर्तनकारी युवासहित अन्तरिम सरकार गठन गर्नुपर्ने
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले परिवर्तनकारी युवालाई समेटेर तत्काल अन्तरिम सरकार गठन गर्नुपर्ने आग्रह गरेको छ। बुधबार प्रवक्ता मनिष कुमार सुमनद्वारा जारी विज्ञप्तिमा जेनजी पुस्ताको नेतृत्वमा भएको आन्दोलनलाई ऐतिहासिक भन्दै मुलुकलाई निकास दिन अन्तरिम सरकार अपरिहार्य भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “नेपालको इतिहासमा पहिलो पटक जेनजी पुस्ताले सुशासन, भ्रष्टाचार नियन्त्रण, न्याय र परिवर्तनका लागि गरिएको आन्दोलन विजयसहित सफल भएको छ। यसका लागि आन्दोलनकारी युवाप्रति हार्दिक बधाई दिन चाहन्छौँ।” जसपाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा थप दुर्घटना हुन नदिन सचेत रहन आह्वान गरेको छ। साथै, समानता, लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र मौलिक अधिकारजस्ता उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता प्रकट गरेको छ। गत सोमबार र मंगलबार राजधानीलगायतका ठाउँमा युवाले सिंहदरबारसहितका क्षेत्र लक्षित गरी प्रदर्शन गरेका थिए। सो क्रममा सरकारी तथा निजी संरचना जलाइएका थिए। उनीहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध गरेका थिए।