ई-मधेश न्युज
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, २७ चैत्र ।
साहित्यकार तथा संगीतकार महेश्वर पन्त को नयाँ लोकगीत ‘सुनको धारो, चाँदीको पँधेरो’ सार्वजनिक भएको छ। पन्तकै शब्द र संगीतमा तयार गरिएको गीतमा खेम सेन्चुरी र समीक्षा अधिकारी ले स्वर दिएका छन्।
गीतको म्युजिक भिडियो शिव विक ले निर्देशन गरेका हुन्। भिडियोमा अञ्जलि अधिकारी र प्रभातपल ठकुरी मुख्य भूमिकामा देखिएका छन् भने रमेश दाहाल र स्रष्टा पन्त स्वयं अतिथि कलाकारका रूपमा प्रस्तुत भएका छन्।
उक्त गीत तथा भिडियो कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान ले निर्माण गरेको हो। नेपाली लोकसंस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतिष्ठानले ‘आमा सानिमा, फूलको थुँगा खस्यो पानीमा’ जस्ता सिर्जनापछि यो गीत बजारमा ल्याएको जनाएको छ।
कार्यक्रममा मदनराज थापा ले गीतले नेपाली लोकसंगीतमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गरे। त्यसैगरी राजेन्द्र के.सी. ले गीतलाई उत्कृष्ट लोकसिर्जना भन्दै यसले लोपोन्मुख गाउँघरको रोधी संस्कृतिलाई पुनर्जीवित गर्ने धारणा राखे।
कलाकार रमेश दाहाल ले गीतलाई स्रोतालाई नचाउने खालको सशक्त लोकगीतको रूपमा व्याख्या गरे। कार्यक्रममा ऋषभदेव घिमिरे ले सञ्चालन गरेका थिए भने विभिन्न साहित्यकार तथा कलाकारहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।