ई-मधेश न्युज
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २४ चैत ।
वैदेशिक रोजगारीका पीडितलाई न्याय दिलाउने नाममा ठगी गरेको आरोपमा इन्द्रलाल गोले पक्राउ परेका छन्। वैदेशिक रोजगार उद्धार नेपाल का अध्यक्षसमेत रहेका गोलेलाई प्रहरीले काठमाडौंको अन्नपूर्ण चोकबाट नियन्त्रणमा लिएको हो।
महानगरीय प्रहरी वृत स्वयम्भु बाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। उनीमाथि अनाधिकृत रूपमा मेनपावर व्यवसायी, पीडित र एजेन्टहरूलाई प्रभावमा पारेर रकम असुल्ने आरोप लागेको छ।
प्रहरीका अनुसार गोलेले आफ्नो कार्यालयमा समूह परिचालन गरी मेनपावर कम्पनीहरूबाट जबर्जस्ती रकम असुल्ने (चन्दा आतंक) गतिविधि चलाएको आशंका गरिएको छ। वैदेशिक रोजगारीका समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्ने बहानामा आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको आरोप पनि उनीमाथि छ।
विगत केही वर्षदेखि यस्तै गतिविधिमा संलग्न रहेका गोलेले काठमाडौंमा घरजग्गा तथा सवारी साधनसमेत जोडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।