ई-मधेश न्युज
जलेश्वरमा मधेशी र उत्पीडित जनताको अधिकारका लागि अन्तरक्रिया सम्पन्न
ईमधेश न्यूज सम्वाददाता,
जलेश्वर ०८ भाद्र ।
संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा शनिबार जलेश्वरमा भव्य जनजागरण रैली तथा अन्तरक्रिया सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको हलबाट सुरु भएको रैलीले नगर परिक्रमा गर्दै पुनः जिल्ला विकास समितिको हलमा पुगेर अन्तरक्रिया र सभा सम्पन्न भएको हो । कार्यक्रममा हजारौं जनसहभागिता रहेको थियो ।
सहभागीहरूले “एक मधेश, एक प्रदेश,” “उत्पीडित जनताको अधिकार सुनिश्चित गर,” “ओबिसी तथा निषाद आयोग गठन गर,” “पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर” लगायतका नारासहित अधिकारको माग राखे ।
सभामा प्रमुख अतिथिका रूपमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री र गठबन्धनका संयोजक मो. रिजवान अन्सारी उपस्थित थिए । उनले मधेशी तथा उत्पीडित जनताको मुक्ति, समानता र सामाजिक न्यायका लागि आन्दोलन अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए । अन्सारीले राज्यको एकल जातीय मानसिकता, निरंकुश शैली र वर्तमान नेतृत्वको अकर्मतालाई आन्दोलनका बाधकका रूपमा चित्रण गर्दै “इमान्दार शक्तिहरूले तेस्रो जनआन्दोलन अपरिहार्य बनाउनुपर्ने” बताए ।
अन्य वक्ताहरूमा बहुजन एकता पार्टीका कार्यवाहक अध्यक्ष राजाराम पासवान, नेपाल सद्भावना पार्टीका नेता रामकुमार महतो, नेपाल जनजागृति पार्टीका अध्यक्ष ध्रुवलाल निषाद, र मधेश प्रदेशकी पूर्वमन्त्री बिमला अन्सारी लगायत थिए । उनीहरूले दलित, मुस्लिम, निषाद, महिलाहरू र पिछडावर्गको एकताबिनै वास्तविक समानुपातिक प्रतिनिधित्व र न्याय सम्भव नहुने बताएका थिए ।
सभामा बिमला अन्सारीले राज्यद्वारा निरन्तर पछाडि पारिएका समुदायले अब आफ्नै नेतृत्व रोज्नुपर्नेमा जोड दिइन् । रामकुमार महतोले कथित मधेशी नेताहरूको असक्षमता र जनभरोसा तोड्ने प्रवृत्तिको आलोचना गर्दै इमान्दार नेतृत्वको खोजीमा जनतालाई आह्वान गरे ।
यसरी, जलेश्वरमा सम्पन्न भव्य रैली तथा अन्तरक्रिया सभाले मधेशी र उत्पीडित समुदायको एकता, अधिकारका माग र भविष्यको सङ्घर्षलाई स्पष्ट दिशानिर्देश गरेको छ ।