ई-मधेश न्युज
युवामा उद्यमशीलता र नेतृत्व विकासका लागि शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ हुँदै
मधेश न्यूज सम्वाददाता,
काठमाडौँ, ०७ भाद्र ।
युवामा उद्यमशीलता, नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु–याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ।
युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई जोड्ने, सही करियरको बाटो देखाउने, आशाजनक स्टार्टअपलाई प्रवद्र्धन गर्ने र सामाजिक संलग्नता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
कार्यक्रम संयोजक राजु टण्डनका अनुसार कन्क्लेभले विद्यार्थीलाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने, बौद्धिक पलायन रोक्ने र प्राज्ञिक विकासमा योगदान पुर्याउने विश्वास लिएको छ। “विद्यार्थीलाई सही दिशानिर्देश र उद्यमशीलताको बाटोमा अग्रसर गराउने यो कार्यक्रम देशकै ठूलो नेतृत्व मञ्च बन्नेछ,” उनले बताए।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहान १० बजे सुरु हुने कार्यक्रममा कलाकार हरिवंश आचार्य प्रमुख अतिथि रहनेछन्। एक्सपर्ट एजुकेशनको शीर्ष प्रायोजनमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ।
यस संस्करणमा युवालाई प्रेरित गर्ने उद्देश्यले गीत–संगीत, हास्यव्यङ्ग्य, अन्तरक्रिया, सफलताका कथा लगायतका कार्यक्रम रहनेछन्। यस्तै, सिजन बानिया (प्थ्ऋ–२०२५ युथ आइकन सम्मान), एमएमए खेलाडी रबिन्द्र ढाँट (न्गभकत या ज्यलयच), गायक दुर्गेश थापा (एभचायचmभच या तजभ थ्भबच) लगायतलाई सम्मान गरिनेछ।
कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत सईद मोहम्मद इनामुल कविर, नेपाल प्रहरीका ए.आ.जी. दानबहादुर कार्की, क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, हास्य कलाकार सन्दीप क्षेत्री, निर्देशक प्रदीप लामा, लेखक तथा अधिकारकर्मी रुक्सना कपाली, गायक खेम संग्रौला, गायिका ओसीन कार्की लगायत ख्यातिप्राप्त व्यक्तित्वहरूको सहभागिता रहनेछ।
सन् २०१९ (वि.सं. २०७६) देखि निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रमको यो छैठौं संस्करण हो। आयोजकले कन्क्लेभमार्फत सरकारलाई युवाका मागप्रति गम्भीर बन्ने सन्देश दिने र स्वदेशमै सम्भावना खोज्न प्रेरणा थप्ने अपेक्षा लिएको छ।