ई-मधेश न्युज
अनिश्चितकालीन मधेश बन्द घोषणा गर्ने जसपाको चेतावनी
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०४ साउन ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना नेता–कार्यकर्तालाई विनासर्त तत्काल रिहा नगरे मधेशमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ।
जसपा मधेश प्रदेश समितिले मंगलबार साँझ काठमाडौँको माइतीघर मण्डला र बबरमहल क्षेत्रमा आयोजना गरेको मसाल जुलुसका क्रममा प्रहरीले जसपाका प्रवक्ता मनिषकुमार सुमनसहित १८ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा प्रदेश सांसद किरण साह, अम्बिका काफ्ले, पूर्व प्रदेशसभा सदस्य विकी यादव, केन्द्रीय सदस्य हंसाकुमारी साह, शशीकपुर मियाँ, बबि सिंह, भोगेन्द्र यादव, दिनेशकुमार यादव, विद्यार्थी संगठन अध्यक्ष मनिष यादव, महासचिव बलिराम कापरी, युवा महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, विद्यार्थी नेता ललन यादव र रेणुराज सिंहलगायत रहेका जसपा मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले जानकारी दिए।
अध्यक्ष यादवले शान्तिपूर्ण विरोध प्रदर्शनबाट पक्राउ गर्नु गैरलोकतान्त्रिक कार्य भएको भन्दै आन्दोलनकारीहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे। “यदि माग पूरा नभएमा मधेश प्रदेशभर अनिश्चितकालीन बन्द गर्न बाध्य हुने छौँ,” उनले चेतावनी दिए। साथै उनले बन्दबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल सरकारकै हुने स्पष्ट पारे।
जसपाले आफ्ना नेता–कार्यकर्तामाथि भएको गिरफ्तारीलाई राजनीतिक दमनको संज्ञा दिँदै आन्दोलनलाई अझ तीव्र बनाउनुपर्ने धारणा सार्वजनिक गरेको छ।