ई-मधेश न्युज
राष्ट्रिय महिला अधिकार दिवसः समानता र सशक्तीकरणको अभियान
लिलाकान्त यादव,
काठमाडौं, १६ जेठ ।
राष्ट्रिय महिला अधिकार दिवस, २०८३ का अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई थप प्रभावकारी बनाउन आह्वान गरेका छन्।
उपराष्ट्रपतिले महिला अधिकारका क्षेत्रमा प्राप्त ऐतिहासिक उपलब्धिहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता र समावेशी समाज निर्माणतर्फ निरन्तर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। आमा वा बुबामध्ये एकको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्था, राज्यका सबै संरचनामा कम्तीमा एक तिहाइ महिला सहभागिता सुनिश्चित गर्ने संवैधानिक प्रावधान, विभेदकारी कानुनको खारेजी तथा महिलामाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धतालाई महिला अधिकार दिवसका महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
शुभकामना सन्देशमा महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद र असमानताको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता र नेतृत्व विकासमा महिलाको सम्मानजनक उपस्थितिलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
उपराष्ट्रपति यादवले संविधानले प्रत्याभूत गरेका महिला अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले राष्ट्रिय महिला अधिकार दिवसले न्याय, समानता, समावेशिता र सशक्तीकरणका लक्ष्य हासिल गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।