ई-मधेश न्युज
‘कान्छी’पछि चर्चामा आयुष मगर
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १५ जेष्ठ ।
नेपाली संगीत क्षेत्रमा पछिल्लो समय उदाउँदै गरेका युवा कलाकारमध्ये आयुष मगर चर्चित नामका रूपमा स्थापित हुँदै गएका छन् । गायक, गीतकार तथा संगीतकारका रूपमा सक्रिय आयुषले मेलोडीप्रधान आधुनिक गीत र सिनेम्याटिक शैलीका म्युजिक भिडियोमार्फत छोटो समयमै दर्शक तथा श्रोतामाझ लोकप्रियता हासिल गरेका हुन् ।
रुकुममा जन्मिएका आयुषको सांगीतिक यात्रा अमेरिकासम्म पुगेपछि उनको सिर्जनात्मक दायरा अझ फराकिलो बनेको देखिन्छ । विदेशमा बसेर पनि उनले आफ्ना अनुभव, भावना र सम्झनालाई संगीतमार्फत प्रस्तुत गर्दै आएका छन् । त्यसैले उनका गीतहरूमा प्रेम, दूरी, घरको सम्झना र भावनात्मक सम्बन्धका कथाहरू स्वाभाविक रूपमा झल्किने गरेका छन् । आधुनिक संगीत संयोजनमा नेपालीपन मिसाउने उनको शैली युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको छ ।
डिजिटल प्लेटफर्ममा पनि आयुषको उपस्थिति प्रभावशाली देखिएको छ । उनका चर्चित गीत ‘माया पनि बसेकै थियो’ र ‘लैजाने छु तिमीलाई’ ले युट्युबमा ११ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेका छन् । त्यस्तै, केही समयअघि सार्वजनिक भएको ‘कान्छी’ गीतले २४ लाखभन्दा बढी भ्युज पाउँदै उनको लोकप्रियतालाई थप उचाइमा पु¥याएको छ ।
आयुषको विशेषता केवल गायनमा सीमित छैन । उनले आफ्ना गीतलाई दृश्य कथासँग जोडेर प्रस्तुत गर्ने प्रयास गर्दै आएका छन् । उनका म्युजिक भिडियोहरू छोटो फिल्मझैं अनुभूति दिने खालका हुने भएकाले गीतको भावनालाई अझ प्रभावकारी बनाउने गरेको दर्शकहरूको प्रतिक्रिया छ ।
डिजिटल माध्यममार्फत अन्तर्राष्ट्रिय श्रोतामाझ पनि पहुँच विस्तार गरिरहेका आयुष मगर नेपाली संगीतको नयाँ पुस्ताका सम्भावनायुक्त कलाकारका रूपमा स्थापित हुँदै गएका छन् ।