ई-मधेश न्युज
गणतन्त्र दिवसले लोकतन्त्र र जनअधिकारको रक्षा गर्न प्रेरणा देओस्: उपराष्ट्रपति यादव
लिलाकान्त यादव,
काठमाडौं, १५ जेठ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गणतन्त्र दिवस, २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा र सुदृढीकरणमा सबै एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार जारी शुभकामना सन्देशमा उनले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, जनआन्दोलन, सशस्त्र संघर्ष, मधेश आन्दोलन तथा सहिदहरूको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन् ।
उपराष्ट्रपति यादवले गणतन्त्र जनताको शासन प्रणाली भएको उल्लेख गर्दै सम्पूर्ण शक्ति जनतामा निहित रहने बताए । जनताद्वारा निर्वाचित प्रतिनिधिले जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्ने गणतन्त्रको मूल मर्म रहेको उनको भनाइ छ । उनले संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात गर्न सके मात्र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बन्ने धारणा व्यक्त गरे ।
उनले वर्तमान व्यवस्थाले वंशपरम्परागत शासन अन्त्य गरी लोकतन्त्र, समावेशिता, समानता र सामाजिक न्यायको मार्ग प्रशस्त गरेको उल्लेख गरे । गणतन्त्रलाई कमजोर पार्ने प्रयासले लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि असर पार्ने चेतावनी दिँदै उनले सबैलाई राष्ट्रिय एकता, संविधान र लोकतान्त्रिक उपलब्धिको संरक्षणमा लाग्न आग्रह गरे ।
शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले गणतन्त्र दिवस उत्सव मात्र नभई आत्ममूल्यांकनको अवसर पनि भएको उल्लेख गरेका छन् । उनले वंचित, उत्पीडित र उपेक्षित समुदायको सहभागिता बिना कुनै पनि गणतन्त्र सुदृढ हुन नसक्ने बताए । साथै, लोकतन्त्र, संघीयता, समावेशिता र राष्ट्रिय अखण्डतालाई अझ मजबुत बनाउन यो दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।