ई-मधेश न्युज
गणतन्त्र दिवसः जनताको सर्वोच्चताको ऐतिहासिक उत्सव
नेपालको राजनीतिक इतिहासमा जेठ १५ एक अत्यन्त महत्वपूर्ण र गौरवपूर्ण दिन हो । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले करिब २४० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यही ऐतिहासिक उपलब्धिको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाइन्छ । यो केवल शासन व्यवस्था परिवर्तनको दिन मात्र होइन, नेपाली जनताको त्याग, संघर्ष र बलिदानबाट प्राप्त सार्वभौम अधिकारको प्रतीक पनि हो ।
गणतन्त्रको मूल अर्थ जनताद्वारा जनताकै लागि सञ्चालन हुने शासन व्यवस्था हो । राजतन्त्रमा सीमित परिवारको अधिकार रहने भए पनि गणतन्त्रले हरेक नागरिकलाई समान अवसर र अधिकार प्रदान गर्दछ । आज सामान्य परिवारमा जन्मिएको नेपाली नागरिकले पनि राष्ट्रको सर्वोच्च पदमा पुग्ने सम्भावना बोकेको छ । यही लोकतान्त्रिक चेतनाले गणतन्त्रलाई विशेष बनाएको हो ।
नेपालमा गणतन्त्र स्थापना सहज थिएन । जनआन्दोलन, मधेश आन्दोलन, १० वर्षे सशस्त्र द्वन्द्व तथा हजारौँ नेपालीको बलिदानपछि मात्रै यो व्यवस्था सम्भव भएको हो । त्यसैले गणतन्त्र दिवस सहिदहरूको सपना, संघर्ष र बलिदानलाई सम्झने दिन पनि हो । उनीहरूको बलिदानको सम्मान केवल औपचारिक कार्यक्रमबाट होइन, सुशासन, सामाजिक न्याय, समानता र विधिको शासन स्थापित गरेर मात्र हुन सक्छ ।
आज देशभर प्रभातफेरी, दीप प्रज्वलन, सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा विभिन्न जनचेतनामूलक गतिविधि गरी गणतन्त्र दिवस मनाइन्छ । विदेशस्थित नेपाली नियोगहरूमा पनि विविध कार्यक्रम आयोजना गरिन्छ । यस दिन नेपाली जनताले आफू सार्वभौम भएको अनुभूति गर्दै राष्ट्रिय एकता, लोकतन्त्र र समृद्धिको संकल्प दोहो¥याउने गर्दछन् ।
गणतन्त्रको वास्तविक सफलता तब मात्र सम्भव हुन्छ जब देशमा राजनीतिक स्थिरता, आर्थिक विकास, सामाजिक न्याय र नागरिकको सम्मान सुनिश्चित हुन्छ । विविधताभित्रको एकता, सहअस्तित्व र राष्ट्रिय स्वाभिमानलाई अझ बलियो बनाउँदै गणतन्त्रले समृद्ध नेपाल निर्माणको मार्ग प्रशस्त गरोस् भन्ने शुभकामना । नेपालीको जय होस्, नेपालको जय होस् ।