ई-मधेश न्युज
अन्तर्राष्ट्रिय महिनावारी दिवसमा नेपालगञ्जमा सचेतना तथा ब्रासलेट वितरण
ईमधेश न्यूज सम्वाददाता,
नेपालगञ्ज, १५ जेष्ठ ।
१३औँ अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा नेपालगञ्जमा महिला तथा किशोरीहरूलाई महिनावारी चक्रबारे अभिमुखीकरण प्रदान गर्नुका साथै ब्रासलेट वितरण गरिएको छ ।
एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालित “नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरूको महिनावारी स्वच्छता तथा व्यवस्थापन” परियोजनाअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी महिला तथा किशोरीहरूलाई महिनावारी चक्र, स्वच्छता र व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा ३० जना सहभागीहरूको उपस्थिति रहेको थियो । परियोजना व्यवस्थापक रमिता शाह र शिक्षा पर्सन मिना घर्तिमगरले महिनावारी चक्र तथा यससँग सम्बन्धित स्वास्थ्य र सरसफाइका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रमअन्तर्गत सहभागीहरूलाई ब्रासलेट बनाउने तालिमसमेत प्रदान गरिएको थियो । तालिमपछि सहभागीहरूले तयार गरेका ब्रासलेटहरू वितरण गरिएको आयोजकले जनाएको छ ।
बास नेपालका निर्देशक हेमराज भट्टले सहभागीहरूलाई ब्रासलेट वितरण गर्दै महिनावारी स्वास्थ्यबारे खुला छलफल र सचेतना अभिवृद्धि आवश्यक रहेको बताए । कार्यक्रमले किशोरी तथा महिलाहरूमा आत्मविश्वास बढाउनुका साथै महिनावारीप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुगेको सहभागीहरूको भनाइ थियो ।