ई-मधेश न्युज
विमला निरौलाको ‘प्रेमाश्रु’ कथासङ्ग्रह लोकार्पण सम्पन्न
काठमाडौं २७ माघ ।
साहित्यकार विमला निरौलाको तेह्रौँ कृति ‘प्रेमाश्रु’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ। घरदेशदेखि परदेशसम्म नेपाली भाषा–साहित्यको प्रवद्र्धन तथा पुस्तान्तरणमा सक्रिय निरौलाको कृति मिलाप पब्लिकेशनको आयोजना र अनेसास दर्पणको संयोजनमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो।
कार्यक्रमको सभापतित्व मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले गरेका थिए भने प्रमुख आतिथ्यता स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका थिए। अनेसास दर्पणका कार्यकारी सम्पादक तथा कृतिका सम्पादक रमेश दाहालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
प्रमुख अतिथि रोदन, सभापति भुसाल, बाल साहित्य समाज नेपालका पूर्व अध्यक्ष प्रमोद प्रधान, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, प्रा.डा. यज्ञश्वर निरौला लगायतका विशिष्ट अतिथिहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।
लोकार्पणपछि सर्जक निरौलालाई दोसल्ला, माला र सम्मानपत्र प्रदान गरिएको थियो। प्रा.डा. यज्ञश्वर निरौलाले कृतिमाथि समीक्षा गर्दै २९ कथामध्ये अधिकांश प्रेमसम्बन्धी विषयवस्तुमा आधारित रहेको र सरल तथा सरस प्रस्तुति पाठकमैत्री भएको उल्लेख गरे।
कार्यक्रममा स्रष्टा निरौला भावुक बन्दै आफ्ना लेखन यात्राबारे प्रकाश पारेकी थिइन्। प्रमुख अतिथि रोदनले निरौलाका कृतिहरू दीर्घकालसम्म स्मरणीय रहने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा राजधानीका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।