ई-मधेश न्युज
विश्व क्यान्सर दिवस: सचेतनाबाट सम्भव जीवन रक्षा
फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस मनाइन्छ। क्यान्सरजस्तो गम्भीर रोगका कारण हरेक वर्ष लाखौँ मानिसहरूले ज्यान गुमाइरहेका छन्। यो दिवस केवल औपचारिकता मात्र होइन, क्यान्सरप्रति चेतना फैलाउने, समयमै पहिचान र उपचारको महत्व बुझाउने तथा क्यान्सरसँग लडिरहेका बिरामीहरूलाई हौसला प्रदान गर्ने अवसर हो। हामीमध्ये धेरैले क्यान्सरका कारण आफ्ना प्रियजन गुमाएका छौँ। उपचारको खर्च, शारीरिक पीडा र मानसिक तनावले यो रोगलाई झनै भयावह बनाएको छ।
क्यान्सर उपचारसँग सम्बन्धित चिकित्सा विज्ञानलाई ‘अन्कोलोजी’ भनिन्छ भने नेपालीमा क्यान्सरलाई ‘अर्बुद रोग’ भनिन्छ। समयमै पहिचान हुन सकेमा धेरै प्रकारका क्यान्सरको रोकथाम र उपचार सम्भव छ। तर हाम्रो समाजमा नियमित स्वास्थ्य जाँचको संस्कार कमजोर छ। बिरामी भएपछि मात्र अस्पताल जाने प्रवृत्तिका कारण धेरैजसो क्यान्सर ढिलो चरणमा पत्ता लाग्ने गर्छ, जसले उपचार कठिन र महँगो बनाउँछ।
अध्ययनअनुसार विश्वभर क्यान्सरबाट हुने करिब २२ प्रतिशत मृत्यु सुर्तीजन्य पदार्थ सेवनका कारण हुन्छन्। त्यस्तै, असन्तुलित आहार, मदिरा सेवन, शारीरिक व्यायामको कमी, मोटोपन र विभिन्न सङ्क्रमणहरू पनि क्यान्सरका प्रमुख कारण हुन्। विकासोन्मुख देशहरूमा हेपाटाइटिस बी, सी र ह्युमन प्यापिलोमा भाइरस (ज्एख्) का कारण पनि क्यान्सरको जोखिम बढी देखिन्छ। केही क्यान्सर आनुवंशिक रूपमा सर्ने भए पनि यस्ता क्यान्सरको संख्या कुल क्यान्सरको ५ देखि १० प्रतिशत मात्र रहेको पाइन्छ।
क्यान्सरको जोखिम न्यूनीकरणका लागि सुर्तीजन्य पदार्थ त्याग्नु, सन्तुलित आहार अपनाउनु, फलफूल र तरकारी प्रशस्त खानु, मदिरा कम गर्नु, नियमित व्यायाम गर्नु र घाम तथा विकिरणबाट आवश्यक सावधानी अपनाउनु अत्यन्त जरुरी छ। नेपालमा स्वास्थ्य सेवा खर्चिलो छ भन्ने धारणा भए पनि सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरूमा सुलभ दरमा जाँच तथा उपचार सम्भव छ।
विश्व क्यान्सर दिवसले हामीलाई एक सन्देश दिन्छ—क्यान्सर अपरिहार्य मृत्यु होइन। सचेतना, समयमै जाँच र जीवनशैली सुधारमार्फत धेरै जीवन जोगाउन सकिन्छ। आजको दिन क्यान्सरसँग लडिरहेका सबैलाई हौसला र दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वस्थ र दीर्घ जीवनको कामना गरौँ।