ई-मधेश न्युज
इन्जिनियरहरूले डेटा साइन्स, मेसिन लर्निङ र एआईमा दख्खल राख्नुपर्छ: डीन जोशी
ईमधेश न्इूज सम्वाददाता,
काठमाडौं, १७ माघ ।
पछिल्लो समय डेटा साइन्स, मेसिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अत्याधुनिक प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएकाले सिभिल इन्जिनियरहरूले पनि यी विषयमा दख्खल राख्नुपर्नेमा पोखरा विश्वविद्यालयका डीन तथा सह–प्राध्यापक बुद्धिराज जोशीले जोड दिनुभएको छ ।
शुक्रबार चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक अध्ययन पूरा गरेका २०१९ र २०२० ब्याचका सिभिल इन्जिनियरिङ तथा सिभिल एन्ड रुलर इन्जिनियरिङका विद्यार्थीहरूको विदाइ कार्यक्रममा बोल्दै डीन जोशीले प्रविधिसँगै इन्जिनियरिङ पेशा पनि रूपान्तरण भइरहेको उल्लेख गर्नुभयो । उहाँले स्नातक तहमा गरिने अनुसन्धान आधारभूत मात्र हुने भएकाले उच्च तहसम्म अध्ययन गर्दै अनुसन्धानमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।
“ब्याचलर पूरा गरेर तपाईंहरू राम्रो विद्यार्थी त बन्नुभयो, अब असल मान्छे बन्नु सबैभन्दा ठूलो चुनौती हो,” उहाँले भन्नुभयो, “अनुशासन र पेशागत इमान्दारिता नै इन्जिनियरको पहिचान हो।” पछिल्लो समय उच्च शिक्षाका लागि विद्यार्थी विदेश जाने प्रवृत्ति बढे पनि नेपालमै गुणस्तरीय सिभिल इन्जिनियरिङ शिक्षा उपलब्ध रहेको उहाँको भनाइ थियो ।
सिभिल इन्जिनियरलाई गल्ती गर्ने छुट नहुने उल्लेख गर्दै डीन जोशीले एक इन्जिनियरको सानो त्रुटिले हजारौँ नागरिकको ज्यान जोखिममा पर्न सक्ने भएकाले जिम्मेवारीबोध अत्यन्त आवश्यक रहेको बताउनुभयो । साथै, कलेजबाट उत्तीर्ण विद्यार्थी पोखरा विश्वविद्यालय र नेपाल इन्जिनियरिङ कलेजका ‘एम्बास्डर’ भएकाले संस्थाको गरिमा उच्च राख्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष सह–प्राध्यापक विकास अधिकारीले काउन्सिलको परीक्षा उत्तीर्ण गरेपछि मात्र व्यावसायिक अभ्यासमा लाग्न सुझाव दिनुभयो । कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसीलगायतले इन्जिनियरिङ शिक्षाको गुणस्तर र विद्यार्थीको भूमिकाबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा करिब २०० विद्यार्थीलाई विदाइ गरिएको थियो ।