ई-मधेश न्युज
अर्थ र सहरी विकास मन्त्रीको चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अनुगमन
लिलाकान्त यादव,
भक्तपुर, १८ माघ ।
चाँगुनारायण नगरपालिकामा स्मार्ट सिटी परियोजना कार्यान्वयनलाई तिव्रता दिन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ।
उहाँहरूसँगै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, पूर्व सचिव मनि राम गेलाल, काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, नायब आयुक्त नवराज प्याकुरेल, वडा अध्यक्षहरू तथा अन्य सरोकारवालाहरू पनि सहभागी थिए।
चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्र स्मार्ट सिटी परियोजनाको नाममा लामो समयदेखि जग्गा रोक्का भएर कार्यान्वयनमा ढिलाइ भइरहेको गुनासो बढेपछि अर्थ तथा सहरी विकास मन्त्रीहरू स्वयम् अनुगमनमा निस्किनुभएको थियो।
नगर प्रमुख जीवन खत्री का अनुसार, ३५ हजार रोपनी जग्गा स्मार्ट सिटी निर्माणका लागि तोकिएको छ। तर, कार्यान्वयनको गति सुस्त हुँदा स्थानीय बासिन्दाले विभिन्न समस्याहरू भोग्दै आएका छन्। समस्या समाधानको एकमात्र उपाय स्मार्ट सिटी निर्माणलाई शीघ्र अघि बढाउनु हो भन्ने निष्कर्षका साथ मन्त्रीहरूको टोलीले स्थलगत निरीक्षण गरेको हो।
मन्त्रीहरूको टोलीले चाँगुनारायण नगरपालिकाको वडा नम्बर १ (दुवाकोट), वडा नम्बर २, वडा नम्बर ३ (झौखेल), र वडा नम्बर ४ (चाँगु क्षेत्र) को निरीक्षण गर्नुभएको थियो। साथै, ऐतिहासिक चाँगुनारायण मन्दिरको दर्शन समेत गरिएको थियो।
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ ले स्मार्ट सिटी कार्यान्वयनमा भएको ढिलाइले स्थानीयवासीलाई असहज बनाएको उल्लेख गर्दै यस योजनालाई शीघ्र अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अनुगमनका क्रममा स्मार्ट सिटी अन्तर्गत अस्पताल, खेलमैदान, आवासीय क्षेत्र, र सम्पूर्ण पूर्वाधार विकासको लागत तथा मोडलबारे छलफल गरिएको जानकारी नगर प्रमुख खत्रीले दिनुभयो।
मन्त्रीहरूको सहभागितामा भएको अनुगमनले चाँगुनारायण नगरबासीलाई स्मार्ट सिटीको परिकल्पना पूरा हुने आशा जागृत गराएको छ। स्मार्ट सिटी योजनाले स्थानीय विकास, आवासीय सुविधाको विस्तार, र समग्र नगरपालिकाको आधुनिक व्यवस्थापनलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।
अब चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयनको गति तिव्र हुने आशा गरिएको छ।