ई-मधेश न्युज
महाकुम्भ स्नानमा ५० लाखभन्दा बढी नेपाली तीर्थयात्री सहभागी
ईमधेश न्यूज सम्वाददाता,
भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा ५० लाखभन्दा बढी नेपाली तीर्थयात्रीहरू सहभागी भएका छन्। नेपाल–भारत खुला सीमाका कारण नेपालबाट महाकुम्भ यात्रामा सहजता भएको बताइन्छ।
नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास को नेतृत्वमा नेपाली तीर्थयात्रीहरूको सुविधाका लागि विशेष आवास (खालसा) निर्माण गरिएको छ। साथै, ऋषिकेशस्थित धर्मराज मन्दिरका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराज जी ले नेपाल र भारतका तीर्थयात्रीहरूको बसोबास तथा खानपानका लागि विशेष व्यवस्था मिलाएका छन्।
नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झा आफ्नो परिवारसहित महाकुम्भ मेलामा सहभागी भएका छन्। उनका पिता संस्कृत विद्वान पण्डित गंगेश झा, माता बच्ची देवी झा, पत्नी सोनी झा, छोरा बाल अभियानी आदित्य झा, तथा अन्य परिवारका सदस्यहरू समेत मेला भ्रमणमा छन्। जनकपुर युथ क्लबका पूर्वअध्यक्ष मनिष श्रीओम पनि उनीहरूकै टोलीमा छन्।
पूर्वअध्यक्ष श्रीओम ले नेपालबाट प्रयागराजसम्मको यात्रामा भारतीय प्रहरीले नेपाली गाडीहरूलाई कुनै पनि कागजात जाँच नगरी सम्मानपूर्वक जान दिएको अनुभव सुनाए। तर, उनले नेपालमा भारतीय पर्यटकहरूमाथि कठोर व्यवहार हुने गुनासो गर्दै, यस्तो प्रवृत्तिले भारतीय पर्यटक नेपाल आउन डराउने अवस्था सिर्जना गरेको बताए।
इन्जिनियर सुजीत झा ले पनि महाकुम्भ यात्राका क्रममा भारतीय प्रहरीले नेपाली तीर्थयात्रीहरूप्रति सहयोगी व्यवहार देखाएको बताए। सेल्फ ड्राइभमा रहेका झाले नेपालका गाडीमा सवार यात्रुहरूलाई सहज रूपमा यात्रा गर्न दिने व्यवस्था भारतीय सुरक्षाकर्मीहरूले मिलाएको उल्लेख गरे।
डा. राजीव झा ले नेपाललाई पर्यटन हब बनाउने उद्देश्यले नेपाल–भारत सीमा पूर्ण रूपमा खुला राख्नुपर्ने सुझाव दिए। साथै, विवाह पञ्चमी, रामनवमी, परिक्रमा, महाशिवरात्रि जस्ता धार्मिक पर्वहरूको प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार, सरकारको नीति पर्यटकमैत्री हुनुपर्ने र “अतिथि देवो भवः“ को भावना अनुरूप कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ। उनका भनाइमा, नेपालका दुई छिमेकी देशहरूमध्ये प्रत्येक वर्ष १ प्रतिशत जनसंख्या मात्र नेपाल भ्रमणमा आए पनि नेपाललाई विश्वका धनी राष्ट्रहरूको सूचीमा उभ्याउन सकिन्छ।
डा. झाका अनुसार, धार्मिक तथा सांस्कृतिक पर्वहरूको सही व्यवस्थापनले नेपालमा पर्यटन प्रवद्र्धन गर्न सकिन्छ। यसबाट नेपाल–भारत सम्बन्ध थप मजबुत बन्ने र धार्मिक पर्यटनमार्फत नेपालको आर्थिक उन्नति सम्भव हुने विश्वास व्यक्त गरिएको छ।