ई-मधेश न्युज
जसपा नेपाल सप्तरीमा शान्तिपूर्ण मतदान सम्पन्न,
सप्तरी, साउन १९ – जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरी जिल्ला कार्यसमिति गठनका लागि भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। सोमवार राजविराज–२ स्थित साईकृष्णा मेडिकल कलेज प्रांगणमा सम्पन्न निर्वाचनमा कुल ५१४ मध्ये ५०४ जना मतदाताले आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन्। पार्टी निर्वाचन समिति संयोजक कृष्णलाल यादवका अनुसार बाँकी १० मतदाता अनुपस्थित रहे। पार्टीको जिल्ला एकता अधिवेशन अन्तर्गत बिहीवार सम्पन्न बन्द सत्रमा कार्यसमिति चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा जानु परेको हो। मतदानपछिको मतगणना आजै राजविराजस्थित पार्टी कार्यालय र आई गार्डेन होटलमा सुरु हुने जनाएको छ। जिल्ला अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केदार प्रसाद यादव र उपाध्यक्ष उमेशकुमार यादवबीच प्यानलसहित प्रतिस्पर्धा भएको छ। निर्वाचन प्रक्रियालाई व्यवस्थित र निष्पक्ष बनाउन पार्टी निर्वाचन समिति सक्रिय रूपमा संलग्न रहेको छ।