ई-मधेश न्युज
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुटमा विवाद नगर्न पूर्वप्रधानमन्त्री माधव नेपालद्वारा भारतलाई आग्रह
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुटमा विवाद नगर्न पूर्वप्रधानमन्त्री माधव नेपालद्वारा भारतलाई आग्रह
ईमधेश न्यूज सम्वाददाता,
रौतहट, २० माघ ।
नेकपा (एस) का केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुटमा अवरोध खडा नगर्न भारत सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले भारतले नेपाल–भारत मैत्री सम्बन्धलाई ध्यानमा राख्दै विमानस्थल निर्माण कार्यमा सहयोग पुर्याउनु पर्ने बताउनुभयो।
शनिबार रौतहट सदरमुकाम गौरमा नेपाल–भारत पत्रकार संगठन ’मिडिया फर बोर्डर हार्मोनी’ द्वारा आयोजित नेपाल–भारत मैत्री संवाद कार्यक्रम मा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भारतलाई जनकपुरधाम–अयोध्या र लुम्बिनी–बोधगया जोड्ने नयाँ एयर रुट निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नेपाल र भारत दुवै देशका जनताको सहज आवागमनको लागि अपरिहार्य भएको भन्दै एयर रुटका विषयमा विवाद खडा नगर्न भारतलाई आग्रह गर्नुभयो।
पूर्वप्रधानमन्त्री नेपालका अनुसार, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणा २००९ मा आफू प्रधानमन्त्री भएका बेला निर्णय गरिएको हो। विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार विकासको लागि २०१० मा शिलान्यास गरिएको फास्ट ट्र्याक सडक परियोजना अझै सम्पन्न हुन नसक्नु नेपाल सरकारकै कमजोरी भएको स्वीकार गर्दै, दुबै परियोजनालाई तीव्र रूपमा अघि बढाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
नेपालका एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप अत्यधिक बढ्दै गएको कारणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अपरिहार्य भएको उहाँको भनाइ छ। फास्ट ट्र्याक परियोजनाको अनुगमन आफूले पटक–पटक गराए पनि अपेक्षित प्रगति नभएको उल्लेख गर्दै, नेपाल सरकारले समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताले भोगिरहेका समस्याहरूको समाधानका लागि, नेपालका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुख (एसपी) तथा भारतका जिल्ला अधिकारी (डीएम) र प्रहरी प्रमुख (एसपी) को संयुक्त बैठक को आवश्यकतामाथि जोड दिनुभयो। साथै, सीमा क्षेत्रका जनप्रतिनिधिहरू (सांसद र विधायक) को सक्रिय पहलबाट मात्र समस्या समाधान सम्भव हुनेमा विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न नेपाल–भारतका विशिष्ट व्यक्तिहरूले सीमावर्ती क्षेत्रका नागरिकहरूले भोग्दै आएका समस्याहरूको समाधानमा पारस्परिक सहकार्यको आवश्यकता औंल्याए। कार्यक्रममा बिहार विधानसभाका विधायक मोतीलाल प्रसाद, मधेस प्रदेशसभा सदस्य नागेन्द्र साह, मधेस सरकारका पूर्वमन्त्री योगेन्द्र यादव, बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादव, बैरगनियाका पूर्वमेयर बसिर अन्सारी, नेकपा (एस) नेता रेवन्त झा, लोसपा नेता अनिल कुमार सिंह, भारतीय नागरिक समाजका प्रतिनिधि रामअशिष पटेल र राष्ट्रिय एकता अभियान नेपालका अध्यक्ष विनय यादवको उपस्थिती रहेका थिए ।
उक्त बैठकमा नेपाल–भारत सीमामा नागरिकहरूलाई पर्ने कठिनाइ तथा धार्मिक, सामाजिक र पारिवारिक सम्बन्धमा पर्ने असर लाई कम गर्न दुवै देशका सरकारहरू संवाद, समन्वय र सहकार्यमार्फत समाधान खोज्नुपर्ने सुझाव दिइयो।
पूर्वप्रधानमन्त्री नेपालको भारत सरकारलाई गरिएको अनुरोधले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनालाई गति दिने अपेक्षा गरिएको छ।