ई-मधेश न्युज
पुष पूर्णिमा धार्मिक दृष्टिले विशेष दिन हो
हरेक पूर्णिमालाई बडो श्रद्धाका रूपमा मनाइने चलन हाम्रो सनातन सभ्यतामा रहिआएको छ । यी सबमध्ये पुस पुर्णिमा एउटा विशेष महत्व राखेको छ। स्वस्थानी व्रत एवं माघी स्नान यसै पूर्णिमाबाट प्रारम्भ हुन्छ। यस दिन पूर्वी नेपालको कोशी नदीको छेउमा अनेकन स्नान मेला लाग्ने गर्दछ। खासगरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित कोशी ब्यारेजमा र सप्तकोशी नगरपालिका स्थित मेदीनचौरियामा ठूलो स्नान मेलाको आयोजन हुने गर्दछ। जहाँ कैयौँ जिल्लाका मानिसहरू कोशी स्नान गर्न पुग्दछन्। हुन त यस दिन नेपाल र भारतको कैयौं स्थानमा स्नान मेला हुने गर्दछ।
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेष भगवान् शिव र विष्णुको आराधना गरिन्छ ।
वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्व बलको प्रभाव धेरै रहने र यस दिन कोशी नदीको स्नान एवं पुर्णिमा व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यसो गर्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । असमान सँगै कसै कसै ले निराहार र निर्जल बसेर व्रत बस्छन् भने कसैकसैले , अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।
कोशी स्नान वा पुस पूर्णिमाको स्नान मेला धार्मिक शुद्धिकरणको विधि हो। अत: स्नान मेलालाई अस्लिलयुक्त मनोरञ्जन स्थलको रुपमा विकृत नगरौं, परम्परा र संस्कृतिलाई सम्बर्धन गरौं।