ई-मधेश न्युज
जसपा नेपालको कार्यकारिणी समिति बैठक सम्पन्न, यी भए महत्वपूर्ण निर्णय
लिलाकान्त यादव,
काठमाडौं, २२ माघ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक सोमबार साँझ सम्पन्न भएको छ। तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा जारी बैठक ले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
जसपा नेपालले पूर्वी नेपालमा भइरहेको ‘नो केबलकार आन्दोलन’ माथि सरकारले गरेको दमन तत्काल बन्द गर्न माग गरेको छ।
आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार तथा गिरफ्तार गरिएका आन्दोलनकारीहरूको अविलम्ब रिहाइको माग गरेका छन् ।
पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचना यथावत् राख्न गरिएको आन्दोलन लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप भएको जसपाको ठहर छ ।
सरकारको बल प्रयोगलाई ‘आदिवासी–जनजाति समुदायको अधिकार हनन’ को रूपमा व्याख्या गर्दै पार्टीको विरोध गर्नेछ ।
माघ २४ गते संसदमा प्रस्तुत हुन लागेको अध्यादेशको पक्ष वा विपक्षमा मतदान गर्ने विषयमा छलफल भएको थियो ।
यस विषयमा मंगलबार सिंहदरबारमा बस्ने संसदीय दलको बैठकले अन्तिम निर्णय गर्नेछ ।
जसपाको निर्णय संसदमा निर्णायक हुने भएकाले यसबारे व्यापक चासो विषय बनेको छ ।
पार्टीको संगठन सुदृढीकरण गर्दै तीन वटा प्रदेशमा नयाँ इन्चार्जहरू नियुक्त गरिएको छ । जसमा लुम्बिनी प्रदेशमा महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशमा बीर बहादुर नेपाली र सुदूरपश्चिम प्रदेशमा प्रेमचन्द्र झालाई नियुक्त गरिएको छ ।
‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को प्रदेश, जिल्ला, पालिका, र वडास्तरसम्म समिक्षा गर्ने भनेका छन् ।
अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी, र परिणाममुखी रहेको निष्कर्ष निकालेका छन् ।
माघ मसान्तपछि अभियानलाई स्थगित गरी आगामी वैशाखभित्र प्रदेश, जिल्ला, र पालिकास्तरीय अधिवेशन सम्पन्न गर्ने निर्देशन दिएको छ ।
जसपाले केन्द्रीय सल्लाहकार समिति गठन गर्ने तयारी गरिरहेको छ।
यसका लागि दुई दर्जन नेताहरूको नाम संकलन गरिएको छ ।
थप छलफल र गृहकार्यपछि समितिको नेतृत्व र सदस्यहरूको टुंगो लगाइने बताएको छ ।
दश जना नयाँ सदस्यको नाम प्रस्ताव, थप गृहकार्य गरेर टुंगो लगाइनेछ ।
तीनजना विभागीय प्रमुखसहित हाल ३५ सदस्यीय कार्यकारिणी समिति बनाएको छ ।
यस बैठकले पार्टीको संगठनात्मक सुदृढीकरण, राजनीतिक निर्णयहरू, र सरकारका कदमहरूप्रति पार्टीको स्पष्ट धारणा निर्माण गरेको छ। जसपाको संसदीय दलको बैठकपछि सरकारको प्रस्तावित अध्यादेशमा पार्टीको औपचारिक निर्णय आउनेछ।
बैठकमा पारित निर्णयहरू पार्टीलाई अझ सशक्त बनाउने र आगामी रणनीति निर्माणमा महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ।