ई-मधेश न्युज
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
लिलाकान्त यादव,
काठमाडौं, १३ चैत्र ।
रामसहाय प्रसाद यादव ले राम नवमी २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सत्य, धर्म र मर्यादाको मार्गमा अघि बढ्न आग्रह गरेका छन्। स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि तथा सु–स्वास्थ्यको कामना गर्दै उनले पर्वको महत्वबारे प्रकाश पारेका हुन्।
शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले रामनवमीलाई केवल धार्मिक उत्सव मात्र नभई भगवान श्रीराम को जीवन आदर्शलाई आत्मसात गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरेका छन्। उनले श्रीरामले समाजमा न्याय, सद्भाव र शान्ति स्थापना गर्दै कर्तव्यपालनको सर्वोच्च उदाहरण प्रस्तुत गरेको बताए। उनका अनुसार श्रीरामको जीवनले सत्यनिष्ठा, अनुशासन, नैतिक आचरण र कर्तव्यप्रतिको समर्पण सिकाउँछ।
उपराष्ट्रपति यादवले भगवान श्रीरामको चरित्रले आमा–बुवाप्रतिको सम्मान, समाजप्रतिको जिम्मेवारी र कठिन परिस्थितिमा पनि सत्यको मार्ग नछोड्ने साहस प्रदान गर्ने उल्लेख गरेका छन्। वनवास स्वीकार गरी पुत्रधर्म निर्वाह गर्नु र धर्मको पक्षमा अडिग रहनु उहाँका प्रेरणादायी उदाहरण भएको उनले बताए।
उनले रामनवमीका अवसरमा गरिने भजन, कीर्तन, पूजाआजा र उपासनाले समाजमा सद्भाव, सहयोग, सहिष्णुता र भाइचाराको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्। यस्ता पर्वहरूले राष्ट्रिय एकता सुदृढ बनाउन र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पु¥याउने उनको भनाइ छ।
सन्देशमा उपराष्ट्रपति यादवले सबै नेपालीलाई श्रीरामको आदर्शलाई व्यवहारमा उतार्दै सत्य, धर्म र मर्यादामा आधारित जीवनयात्रा अघि बढाउन आह्वान गरेका छन्। साथै, यस पर्वले समाजमा नैतिकता, सदाचार र एकताको भावना थप सुदृढ बनाओस् भन्ने कामना व्यक्त गरेका छन्।