ई-मधेश न्युज
विश्व क्षयरोग दिवस: सचेतना र प्रतिबद्धताको खाँचो
हरेक वर्ष मार्च २४ मा मनाइने ध्यचमि त्गदभचअगयिकष्क म्बथ केवल एक औपचारिक दिन मात्र होइन, मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चेतावनीको संकेत पनि हो। क्षयरोग (टिबी) जस्तो पुरानो रोग आज पनि विश्वका करोडौँ मानिसका लागि चुनौती बनेको छ। चिकित्सा विज्ञानले उल्लेखनीय प्रगति गरिसकेको वर्तमान समयमा समेत यस रोगको व्यापकता देखिनु हाम्रो स्वास्थ्य प्रणाली, जनचेतना र सामाजिक व्यवहारमा रहेका कमजोरीहरूको प्रतिबिम्ब हो।
क्षयरोग मुख्यतः फोक्सोलाई असर गर्ने सङ्क्रामक रोग हो, जुन संक्रमित व्यक्तिबाट हावामार्फत सर्ने गर्दछ। नेपालजस्तो विकासोन्मुख देशमा यसको जोखिम झनै उच्च देखिन्छ। यहाँ गरिबी, कुपोषण, भीडभाडयुक्त बसोबास, र स्वास्थ्य सेवामा सीमित पहुँच जस्ता कारणले रोग नियन्त्रणमा चुनौती थपिएको छ। अझै पनि धेरै मानिसहरू प्रारम्भिक लक्षणलाई बेवास्ता गर्ने, समयमै परीक्षण नगर्ने तथा उपचार पूरा नगर्ने प्रवृत्तिले समस्या जटिल बनाएको छ।
सरकारले निःशुल्क उपचार सेवा उपलब्ध गराएको सकारात्मक पक्ष भए पनि, जनचेतनाको अभावले यसको प्रभावकारिता सीमित बनेको छ। विशेषगरी ग्रामीण क्षेत्रमा स्वास्थ्यसम्बन्धी जानकारीको कमी, सामाजिक लाज तथा भ्रमका कारण धेरै बिरामीहरू लुकेर बस्ने वा उपचारबाट टाढा रहने गर्छन्। यसले न केवल उनीहरूको स्वास्थ्य जोखिममा पार्छ, तर अरूलाई पनि सङ्क्रमण फैलाउने सम्भावना बढाउँछ।
क्षयरोग नियन्त्रणका लागि औषधि मात्र पर्याप्त हुँदैन, यसका लागि सामूहिक जिम्मेवारी आवश्यक छ। व्यक्तिगत स्तरमा स्वच्छता अपनाउने, लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गर्ने र चिकित्सकको सल्लाहअनुसार औषधि पूरा सेवन गर्ने बानी अत्यन्त आवश्यक छ। त्यस्तै, सरकार र सरोकारवाला निकायले जनचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ।
“रोग लाग्नु भन्दा लाग्न नदिनु नै बुद्धिमानी” भन्ने सन्देशलाई व्यवहारमा उतार्नु आजको आवश्यकता हो। विश्व क्षयरोग दिवसले हामी सबैलाई सचेत, जिम्मेवार र स्वास्थ्यप्रति सजग बन्न प्रेरित गर्दछ। यदि हामीले अहिलेबाटै सशक्त कदम चाल्न सक्यौँ भने, भविष्यमा क्षयरोगमुक्त समाज निर्माण असम्भव छैन।