ई-मधेश न्युज
विश्व मौसम विज्ञान दिवसः मौसम पूर्वानुमान र जनसुरक्षामा विज्ञानको भूमिका
हरेक वर्ष मार्च २३ का दिन मनाइने विश्व मौसम विज्ञान दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। सन् १९६१ देखि सुरु भएको यस दिवस विश्व मौसम विज्ञान संगठन (ध्ःइ) को स्थापना दिवसको स्मरणमा मनाउने गरिन्छ।
मौसम विज्ञान दिवसले मौसमको फेरबदलमा बादल, जलवायु प्रणाली र वैज्ञानिक तथ्याङ्कको महत्त्वलाई उजागर गर्ने उद्देश्य राख्दछ। मौसमसम्बन्धी सटीक पूर्वानुमानका लागि सङ्कलित तथ्याङ्क अत्यन्त आवश्यक हुने भएकाले ध्ःइ ले विश्वभरका देशहरूबीच सूचना आदान–प्रदान गर्दै मानव सुरक्षा र कल्याणमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ।
विशेषज्ञहरूका अनुसार मौसमसम्बन्धी डाटाले प्राकृतिक प्रकोपको पूर्वसूचना दिन, दैनिक जीवनयापन सहज बनाउन तथा कृषि, जलस्रोत र यातायात व्यवस्थापनमा सहयोग पु¥याउँछ। आँधी, बाढी, पहिरो जस्ता विपद्को पूर्वानुमान गरी समयमै सतर्कता अपनाउन सकिने भएकाले यसले जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दछ।
नेपालजस्तो भौगोलिक रूपमा संवेदनशील देशका लागि मौसम विज्ञान अझ महत्वपूर्ण मानिन्छ। हिमालदेखि तराईसम्म विविध भू–परिस्थितिका कारण यहाँ मौसम तीव्र रूपमा परिवर्तन हुने भएकाले वैज्ञानिक पूर्वानुमान र जनचेतना अपरिहार्य रहेको विज्ञहरूको भनाइ छ।
यस दिवसले मौसमसम्बन्धी जानकारीको प्रयोग, जलवायु परिवर्तनप्रति सचेतना र प्राकृतिक स्रोतको संरक्षणमा सबैलाई जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास लिइएको छ।