ई-मधेश न्युज
श्रद्धापूर्वक सम्पन्न भयो बटसावित्री पूजा
लिलाकान्त यादव,
राजविराज, ०२ जेष्ठ ।्
हिन्दु महिलाहरूले पति तथा परिवारको सुख, शान्ति, दीर्घायु र समृद्धिको कामना गर्दै बुधबार श्रद्धा र भक्तिपूर्वक बटसावित्री पूजा सम्पन्न गरेका छन्। देशका विभिन्न शिवालय, मठमन्दिर तथा बर–पीपलका रुख वरिपरि महिलाहरूको बिहानैदेखि घुइँचो लागेको थियो।
विवाहित महिलाहरूले व्रत बसेर बरको रुखको पूजा गर्दै धागो बाँधेका थिए। धार्मिक मान्यताअनुसार सत्यवानको प्राण यमराजबाट फिर्ता ल्याएकी सावित्रीको सम्झनामा यो पर्व मनाउने परम्परा रहिआएको छ। महिलाहरूले सावित्रीजस्तै अटल प्रेम, समर्पण र दीर्घ दाम्पत्य जीवनको कामना गर्दै पूजा आराधना गरेका हुन्।
पशुपतिनाथ, भक्तपुर, जनकपुरधामलगायतका धार्मिक क्षेत्रमा विशेष पूजा तथा कथा वाचन कार्यक्रमसमेत आयोजना गरिएको थियो। पूजामा सहभागी महिलाहरूले परिवारको स्वास्थ्य, सुख–समृद्धि र आपसी सद्भाव कायम रहोस् भन्ने कामना गरेका थिए।
हरेक वर्ष ज्येष्ठ अमावस्याका दिन मनाइने बटसावित्री पर्व नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा पारिवारिक महत्व बोकेको पर्वका रूपमा लिइन्छ।