ई-मधेश न्युज
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०१ जेष्ठ ।
राष्ट्रिय भूमि आयोगका पूर्व पदाधिकारीहरूले वर्तमान सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर समस्या झन् जटिल बनाएको आरोप लगाएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले करिब तीन लाख भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला बस्ती भत्काइनु गैरजिम्मेवार र अमानवीय कदम भएको बताएका हुन् ।
राष्ट्रिय भूमि आयोगका पूर्व अध्यक्ष केशव निरौला ले संविधानले प्रत्याभूत गरेको आवासको अधिकारविपरीत सरकारले सुकुम्बासीमाथि डोजर चलाएको आरोप लगाए । उनले आफू आयोगको नेतृत्वमा रहँदा तीन लाखभन्दा बढीलाई लालपूर्जा वितरणको तयारी गरिएको दाबी गरे ।
पूर्व अध्यक्ष हरि रिजाल ले वैकल्पिक व्यवस्थाबिनै बस्ती हटाउनु असंवैधानिक र अमानवीय भएको बताए । उनले सुकुम्बासी समस्यालाई सस्तो लोकप्रियताको विषय बनाइएको टिप्पणी गरे ।
पूर्व उपाध्यक्ष नहेन्द्र खड्का ले सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत जबरजस्ती डोजर चलाइएको आरोप लगाए । उनका अनुसार आयोगको तथ्यांकमा १२ लाखभन्दा बढी परिवारको निवेदन दर्ता भएको छ भने हजारौँ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण भइसकेको छ । पूर्व पदाधिकारीहरूले सरकारको कदमविरुद्ध संयुक्त संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।