ई-मधेश न्युज
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
लिलाकान्त यादव,
काठमाडौं, ०१ जेष्ठ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल–इजरायल सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा, प्राविधिक तालिम तथा कृषि सहकार्यका विषयमा छलफल भएको थियो। उपराष्ट्रपति यादवले सन् १९६० देखि दुई देशबीच मित्रता र सहयोगमा आधारित सम्बन्ध कायम रहिआएको उल्लेख गर्दै व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने विश्वास व्यक्त गरे।
उहाँले नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराएकोमा इजरायल सरकारप्रति धन्यवाद व्यक्त गर्दै कृषि प्रविधि, अनुसन्धान, सहकारी विकास तथा क्षमता अभिवृद्धिमा इजरायलको सहयोग प्रशंसनीय रहेको बताए। साथै विश्वविद्यालय तथा अनुसन्धान संस्थानबीच सहकार्य बढाउनुपर्नेमा जोड दिए।
राजदूत बासले कृषि, माहुरीपालन, माछापालन लगायतका क्षेत्रमा नेपाललाई सहयोग गर्न इजरायल इच्छुक रहेको बताए। उनले ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत नेपाली युवाले सीप हासिल गरिरहेको उल्लेख गर्दै भविष्यमा पनि रोजगारी र प्राविधिक अवसर विस्तार गरिने बताए।
भेटमा दुवै पक्षले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।