ई-मधेश न्युज
स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको प्रदर्शन
ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, २६ बैशाख ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको राजीनामा माग गर्दै शनिबार जनकपुरधाममा स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् । धनुषाका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट, एएनएम, ल्याब असिस्टेन्टलगायत स्वास्थ्यकर्मीहरुले मन्त्री मेहताविरुद्ध विरोध ¥याली निकालेका हुन् ।
प्रदर्शनकारीहरुले “स्वास्थ्यमन्त्री मुर्दावाद”, “निशा मेहता राजीनामा दे”, “स्वास्थ्य क्षेत्रमा विभेद बन्द गर” लगायतका नारासहित जनकपुरधामका विभिन्न चोकमा प्रदर्शन गरेका थिए ।
स्वास्थ्यकर्मीहरुको गुनासो अनुसार सरकारले हालै स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा दरबन्दी खुलाए पनि हेल्थ असिस्टेन्ट, ल्याब, रेडियोलोजी, सिएमएलगायत पदमा कुनै दरबन्दी नखुलाएको छ । स्वास्थ्यकर्मी नवेश अधिकारीले ३५ वर्षपछि खुलाइएको दरबन्दीमा आफूहरूलाई पूर्ण रूपमा बेवास्ता गरिएको आरोप लगाए ।
उनले हरेक वर्ष हजारौँ स्वास्थ्यकर्मी उत्पादन भइरहे पनि सरकारी दरबन्दी नखुलाइनु अन्यायपूर्ण भएको बताए । सरकारले दुई दिनभित्र निर्णय सच्याउनुपर्ने माग गर्दै अन्यथा काठमाडौंमा थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । प्रदर्शनकारीहरूले मन्त्री मेहताले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।