ई-मधेश न्युज
नेपाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआईबीच समझदारी
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २४ बैशाख ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) र ल्भहत ब्क्ष्बीच कृत्रिम बुद्धिमत्ता तथा नवप्रवद्र्धनात्मक प्रविधिमा सहकार्य गर्ने समझदारी (एमओयू) भएको छ । विद्यार्थीलाई अध्ययनसँगै उद्योग र प्रविधि क्षेत्रमा जोड्ने उद्देश्यले उक्त सहकार्य गरिएको कलेजले जनाएको छ ।
समझदारीपत्रमा नेकको कम्प्युटर इन्जिनियरिङ विभागकी विभागीय प्रमुख सहायक प्राध्यापक अंशु घिमिरे तथा नेक्स्ट एआईका संस्थापक क्षितिज रिमालले हस्ताक्षर गर्नुभएको हो ।
कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराका अनुसार यस सहकार्यले विद्यार्थीहरूलाई कृत्रिम बुद्धिमत्ता, उदीयमान प्रविधि तथा इन्टर्नशिपमार्फत क्षमता अभिवृद्धिको अवसर प्रदान गर्नेछ । उद्योग र प्राविधिक शिक्षाबीचको सम्बन्ध मजबुत बनाउने लक्ष्यसहित एमओयू गरिएको उहाँले बताउनुभयो ।
करिब ३१ वर्षअघि स्थापना भएको नेकले विभिन्न संस्था तथा उद्योगसँग सहकार्य गर्दै विद्यार्थीको व्यावहारिक सिकाइलाई प्राथमिकता दिँदै आएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङतर्फ स्नातक तथा स्नातकोत्तर तहको अध्ययन हुँदै आएको छ ।
शान्त वातावरण, सुविधा सम्पन्न पूर्वाधार र पूर्णकालीन फ्याकल्टीसहित सञ्चालन भइरहेको कलेजले हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ ।