ई-मधेश न्युज
गण्डक क्षेत्रको स्वाद बोकेको ‘पियारी’ चुड्का गीत सार्वजनिक
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २४ बैशाख ।
नेपाली मौलिक गीत–संगीतका सर्जक गणेश गुरुङले नयाँ कौडा÷चुड्का गीत ‘पियारी’ सार्वजनिक गरेका छन् । गण्डक क्षेत्रको रैथाने भाकालाई संरक्षण गर्ने उद्देश्यसहित ल्याइएको गीतले मौलिक संस्कृति प्रेमीको ध्यान तानेको छ ।
गीतमा गणेश गुरुङसँगै तेजेन्द्र दुरा र मनाङ गुरुङको स्वर रहेको छ भने शब्द सिर्जना पनि गणेश गुरुङकै हो । संगीत संकलन चन्द्र गुरुङ (केवरपानी) र गोरा बाजे (तोरेन)ले गरेका छन् । गीतको एरेञ्ज तेजेन्द्र दुराले गरेका हुन् ।
‘पियारी’ गोरखा र तनहुँ आसपासका क्षेत्रमा प्रचलित चुड्का भाकामा आधारित गीत हो । यो भाका विशेषगरी गुरुङ, मगर, दुरा र दराई समुदायमा लोकप्रिय मानिन्छ । सांस्कृतिक परम्पराअनुसार वैशाख पूर्णिमाबाट सुरु हुने चुड्का गायनको मौलिकता गीतमा समेटिएको छ ।
“व्यावसायिक लाभभन्दा पनि पुर्खाले जोगाएको मौलिक धुन संरक्षण गर्ने उद्देश्यले गीत ल्याएको हुँ,” गायक गुरुङले बताएका छन् । नेपाली लोकसंगीत क्षेत्रमा ‘कौडा किङ’को रूपमा परिचित गुरुङले यसअघि ‘सल्ला धुपैले’, ‘गोरखा मनकामना’ र ‘गोगनपानीमा’ जस्ता चर्चित गीत प्रस्तुत गरिसकेका छन् ।
मनाङ गुरुङको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा हितमान गुरुङ, सुस्मिता गुरुङ, अन्जु गुरुङ र गणेश गुरुङको अभिनय रहेको छ । भिडियो छायांकन करण चैसिर र सम्पादन विष्णुहरि तिमल्सिनाले गरेका हुन् ।