ई-मधेश न्युज
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
काठमाडौं । खस क्षेत्री समुदायको एकता, संगठन सुदृढीकरण तथा राष्ट्रिय भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ “संयुक्त खस क्षेत्री नेपाल” को चौथो राष्ट्रिय महाधिवेशन आज हुँदैछ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि, अगुवा तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ। महाधिवेशनको प्रमुख आकर्षणका रूपमा अध्यक्ष पदका उम्मेदवार अर्जुनबहादुर अधिकारीले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्। उक्त प्रतिबद्धता–पत्रमा नेपालको एकीकरण, स्थायित्व, राष्ट्रिय एकता तथा भाषा, संस्कृति र परम्पराको संरक्षणमा खस क्षेत्री समुदायको ऐतिहासिक भूमिकालाई थप सुदृढ बनाउने उल्लेख गरिएको छ। उम्मेदवार अधिकारीले “केवल भाषण होइन, काम गरेर देखाउने” प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रप्रतिको दायित्वलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले सबै नेपालीलाई साझा घरको रूपमा देशलाई स्वीकार गर्दै एकता, शान्ति र सहअस्तित्वको भावनालाई अझ मजबुत बनाउने धारणा राखेका छन्। प्रतिबद्धता–पत्रमा सामाजिक न्याय, समान अवसर, सांस्कृतिक संरक्षण तथा ऐतिहासिक विरासतको जगेर्ना गर्दै आगामी पुस्तालाई मार्गदर्शन गर्ने विषयहरूलाई प्राथमिकतामा राखिएको छ। साथै, देश तथा विदेशमा रहेका खस क्षेत्री समुदायलाई एक सूत्रमा आबद्ध गर्ने लक्ष्य पनि उल्लेख गरिएको छ। महाधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको भावी रणनीति तय गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, यस कार्यक्रमले खस क्षेत्री समुदाय मात्र नभई समग्र राष्ट्रिय एकता र सहकार्यलाई समेत नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ। महाधिवेशन सफल पार्न देशभरका सदस्य तथा समर्थकहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।