ई-मधेश न्युज
लोकतन्त्र दिवस: उपलब्धि, चुनौती र विश्वासको परीक्षा
हरेक वर्ष वैशाख ११ मा मनाइने लोकतन्त्र दिवस नेपाली जनताको संघर्ष, बलिदान र परिवर्तनको प्रतीक दिन हो। २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनपछि निरङ्कुश राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक शासन व्यवस्थाको पुनस्र्थापना भएको सम्झनामा यो दिवस मनाइन्छ। तर आज, २०८३ सालको सन्दर्भमा, लोकतन्त्रप्रतिको विश्वास र यसको व्यवहारिक अभ्यासबारे गम्भीर प्रश्नहरू उठ्न थालेका छन्।
लोकतन्त्र भनेको जनताद्वारा, जनताका लागि र जनताकै शासन हो। जनताले चुनेका प्रतिनिधिले राज्य सञ्चालन गर्ने र जनताको आवाज नै सर्वोच्च हुने व्यवस्था लोकतन्त्रको मूल मर्म हो। तर व्यवहारमा के यो मर्म पूर्ण रूपमा कार्यान्वयन भइरहेको छ त भन्ने प्रश्न आज धेरैको मनमा उब्जिएको छ।
२०६२÷६३ को आन्दोलनमा तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीचको सहकार्य निर्णायक बन्यो। १२ बुँदे सहमति र १९ दिने जनआन्दोलनले तत्कालीन राजा ज्ञानेन्द्र शाह लाई सत्ता छाड्न बाध्य बनायो। त्यसपछि पुनःस्थापित संसद्ले राजसंस्थाको अधिकार कटौती गर्दै शान्ति प्रक्रिया अगाडि बढायो। अन्ततः २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भयो।
यसै आन्दोलनको जगमा नेपालको संविधान (२०७२) जारी भयो, जसले सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र धर्मनिरपेक्षताको आधारमा नयाँ राजनीतिक संरचना निर्माण ग¥यो। आज सात प्रदेश र ७५३ स्थानीय तहमार्फत सेवा प्रवाह भइरहेको छ, जुन लोकतन्त्रको महत्वपूर्ण उपलब्धि हो।
तर उपलब्धिसँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर छन्। भ्रष्टाचार, राजनीतिक अस्थिरता, सुशासनको अभाव, बेरोजगारी र जनअपेक्षा पूरा हुन नसक्नुले लोकतन्त्रप्रति जनविश्वास कमजोर बनाउँदै लगेको देखिन्छ। नेतृत्व तहबाट जवाफदेहिता र पारदर्शिताको कमीले पनि लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाएको छ।
आजको लोकतन्त्रले केवल अधिकारको सुनिश्चितता मात्र होइन, अवसरको समानता र न्यायपूर्ण शासन पनि सुनिश्चित गर्नुपर्छ। यदि जनताले आफूले चुनेका प्रतिनिधिबाट अपेक्षित परिणाम पाएनन् भने विकल्पको खोजी स्वाभाविक बन्न सक्छ। यही सन्दर्भमा लोकतन्त्रको सुदृढीकरणका लागि सुधार, आत्ममूल्यांकन र जनमुखी नीतिहरू आवश्यक छन्।
लोकतन्त्र दिवस केवल उत्सव होइन, यो आत्मसमीक्षाको दिन पनि हो। आन्दोलनमा सहिद भएका वीरहरूको बलिदानलाई सम्मान गर्दै लोकतन्त्रलाई व्यवहारमा उतार्ने जिम्मेवारी आजका नेतृत्व र नागरिक दुवैको काँधमा छ।
यस अवसरमा लोकतन्त्रको मूल्य, मर्यादा र मर्मलाई व्यवहारमा उतार्ने प्रतिबद्धतासहित लोकतन्त्र दिवसको अर्थपूर्ण शुभकामना।