ई-मधेश न्युज
गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिन जेनजीको चेतावनी
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०९ बैशाख ।
राष्ट्रिय जेनजी नागरिक अभियान ले गृहमन्त्री सुधन गुरुङ लाई २४ घण्टाभित्र राजिनामा दिन आग्रह गर्दै अन्यथा सडक संघर्षमा उत्रने चेतावनी दिएको छ।
राजधानीको संवाद डबलीमा मंगलबार आयोजित कार्यक्रममा अभियानले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेको भन्दै नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्ने माग गरेको हो।
अभियानका संयोजक सुनिल सिंह ले गृहमन्त्रीले तत्काल राजिनामा दिनु उचित हुने बताए। उनले पूर्वमन्त्री दीपककुमार साह लाई स्पष्टीकरणको अवसरसमेत नदिइएको अवस्थामा वर्तमान गृहमन्त्रीप्रति फरक मापदण्ड अपनाइएको आरोप लगाए।
सह–संयोजक अजय सोडारी ले राजनीतिमा पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै गृहमन्त्रीको सम्पत्ति र पृष्ठभूमिबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने बताए।
त्यस्तै, अभियानका सचिव प्रकाश बम ले विगतमा आरोप लागेपछि तत्कालीन गृहमन्त्री रवि लामिछाने ले राजिनामा दिएको उदाहरण दिँदै वर्तमान अवस्थामा पनि नैतिक जिम्मेवारी बहन गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा वक्ताहरूले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आवश्यक परे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।