ई-मधेश न्युज
पूर्व डिई सिताराम सिपलिया यादवको निधन
लिलाकान्त यादव,
राजविराज, ०६ वैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकी उपप्रमुख सरिता सिपलिया यादवलाई पतिशोक परेको छ। उनका पति, पूर्व डिई तथा समाजसेवी सिताराम सिपलिया यादवको आइतबार हृदयघातका कारण निधन भएको हो।
परिवारका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका–४ अर्रीस्थित आफ्नै निवासमा उनको निधन भएको हो। उनी लामो समयदेखि मधुमेह र मुटुरोगबाट पीडित थिए।
स्वर्गीय यादव सिंचाइ मन्त्रालयमा लामो समय कार्यरत रही सेवा निवृत्त भएका थिए। सेवाबाट निवृत्त भएपछि पनि उनी समाजसेवामा सक्रिय रहँदै आएका थिए। घोषिन उत्थान मंचका केन्द्रीय सदस्यसमेत रहेका उनले आफ्नो जीवनको अन्तिम समयसम्म सामाजिक उन्नति र विकासमा योगदान दिएका थिए।
उनका दुई छोरा रहेका छन्। उनको निधनप्रति स्थानीयवासी, सामाजिक अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।