ई-मधेश न्युज
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०२ बैशाख ।
बागमती प्रदेश सरकारद्वारा निर्मित मुद्रा सङ्ग्रहालय दोलखाको भीमेश्वर नगरपालिका–२ मा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। पर्यटन तथा सांस्कृतिक संरक्षणलाई टेवा पु¥याउने उद्देश्यले निर्माण गरिएको उक्त सङ्ग्रहालय स्थानीय तहलाई जिम्मा दिइएको हो।
हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले प्रदेश सरकारले निर्माण गरेका संरचनाहरूलाई उपयोगमा ल्याउने अभियानमा जोड दिइएको बताउनुभयो। उहाँले मुद्रा सङ्ग्रहालय सञ्चालनमा आएपछि अध्ययन, अनुसन्धान तथा अवलोकनका लागि यो स्थल महत्वपूर्ण गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो।
मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले सङ्ग्रहालयले भविष्यमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उल्लेख गर्दै यसले स्थानीय पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राख्नुभयो। कार्यक्रममा आयोजना इकाई कार्यालय काठमाडौँका प्रमुख उत्तम चापागाईँलगायतको उपस्थिति रहेको थियो।
उक्त सङ्ग्रहालय भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत र वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठलाई हस्तान्तरण गरिएको हो। नगर प्रमुख मानन्धरले सङ्ग्रहालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पर्यटन प्रवद्र्धनमा उपयोग गरिने बताउनुभयो।
कार्यक्रममा वक्ताहरूले नेपालका ऐतिहासिक सिक्का, पुराना मुद्रा तथा आर्थिक इतिहास संरक्षण र प्रदर्शन गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको जानकारी दिएका थिए। यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकका लागि नयाँ अध्ययन केन्द्रको रूपमा विकास हुने अपेक्षा गरिएको छ।
दोलखा ऐतिहासिक रूपमा नेपालको पहिलो चाँदीको सिक्का निकालिएको स्थानका रूपमा चिनिन्छ। यस्तो पृष्ठभूमिमा यहाँ मुद्रा सङ्ग्रहालय स्थापना हुनु स्थानीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।