ई-मधेश न्युज
एभरेष्ट इन्जिनियरिङ कलेजका सम्पूर्ण शिक्षक ‘एआई दीक्षित’
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ११ बैशाख ।
एभरेष्ट इन्जिनियरिङ कलेज (EEC) मा आयोजित ‘AI-Enabled Digital Pedagogy’ विषयक तीन दिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। वैशाख ८ देखि १० गतेसम्म सञ्चालन भएको कार्यशालाले कलेजका सम्पूर्ण शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) तथा आधुनिक डिजिटल शिक्षण प्रविधिमा दक्ष बनाउने लक्ष्य राखेको थियो।
कार्यशालाको उद्देश्य परम्परागत शिक्षण पद्धतिलाई रूपान्तरण गर्दै प्रविधिमैत्री, नवप्रवर्तनमुखी तथा विद्यार्थी–केन्द्रित बनाउनु रहेको थियो। सहभागी शिक्षकहरूले AI-आधारित टुल, डिजिटल प्लेटफर्म तथा आधुनिक शिक्षण विधिको प्रयोगसम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका छन्, जसले उनीहरूलाई ‘एआई दीक्षित’ शिक्षकका रूपमा विकास गर्न सहयोग पुगेको कलेजले जनाएको छ।
तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा पहिलो दिन डिजिटल पेडागोजीका आधारभूत अवधारणा, शिक्षण क्षेत्रमा AI को भूमिका तथा प्रविधिसँग अनुकूलन रणनीतिमा केन्द्रित सत्रहरू सञ्चालन गरिएका थिए। दोस्रो दिन डिजिटल कन्टेन्ट निर्माण, इन्टरएक्टिभ शिक्षण विधि तथा विद्यार्थी सहभागिता बढाउने उपायबारे अभ्यासमुखी तालिम दिइएको थियो। अन्तिम दिन AI–आधारित मूल्याङ्कन प्रणाली, डेटा–आधारित शिक्षण प्रक्रिया र ‘स्मार्ट कक्षा’ अवधारणाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमभर सहभागीहरूले समूहगत अभ्यास, केस स्टडी तथा प्रत्यक्ष प्रयोगमार्फत सिकाइलाई व्यवहारमा उतार्ने अवसर पाएका थिए। अन्तरक्रियात्मक सत्रहरूमा अनुभव, चुनौती र समाधानबारे सक्रिय छलफलले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
समापन कार्यक्रममा सह–प्राचार्य तथा कार्यक्रम संयोजक राजन लामा ले कार्यशालाले शिक्षण प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। प्राचार्य डा. हरिकृष्ण श्रेष्ठ ले डिजिटल युगअनुसार शिक्षण पद्धतिमा परिवर्तन अपरिहार्य भएको बताउँदै यस्ता पहल संस्थाको उन्नतिका लागि महत्वपूर्ण हुने धारणा राख्नुभयो। कलेजका CEO अरुणकुमार भण्डारी ले अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने लक्ष्यका साथ प्रविधिमैत्री शिक्षणलाई निरन्तर विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो।
कलेज प्रशासनका अनुसार यस कार्यक्रमले शिक्षकहरूलाई डिजिटल युगअनुकूल अद्यावधिक गर्दै शिक्षण गुणस्तर अभिवृद्धिमा टेवा पुर्याएको छ। समापन समारोहमा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।