ई-मधेश न्युज
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
लिलाकान्त यादव,
काठमाडौं, ०१ बैशाख ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नववर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उपराष्ट्रपति यादवले नयाँ वर्षले सकारात्मक सोच, नयाँ संकल्प र रचनात्मक कार्यको थालनी गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै व्यक्तिगत तथा सामाजिक जीवनमा अनुशासन, सहिष्णुता र भाइचाराको भावना सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले नेपालको विविध सांस्कृतिक परम्पराले ‘विविधतामा एकता’को सन्देशलाई अझ मजबुत बनाएको बताउनुभयो।
शुभकामना सन्देशमा उहाँले शिक्षा, स्वास्थ्य, आर्थिक विकास, वातावरण संरक्षण तथा जलवायु परिवर्तनजस्ता महत्वपूर्ण विषयमा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। साथै संविधानले निर्दिष्ट गरेका मौलिक अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन र समावेशितालाई अझ सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन नयाँ वर्षले प्रेरणा दिनुपर्ने उल्लेख गर्नुभएको छ।
यसै अवसरमा तराई–मधेश क्षेत्रमा मनाइने सतुवाइन, जुडशीतल र सिरुवा पर्व तथा काठमाडौं उपत्यकाको ऐतिहासिक बिस्काजात्राको समेत उहाँले शुभकामना व्यक्त गर्नुभएको छ। यी पर्वहरूले सामाजिक सद्भाव, सांस्कृतिक विविधता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
उपराष्ट्रपति यादवले नववर्ष २०८३ ले सम्पूर्ण नेपालीमा नयाँ आशा, ऊर्जा र प्रेरणा जागृत गर्दै समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर हुन सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।