ई-मधेश न्युज
गजेन्द्रनारायण सिंह अस्पतालमा आगलागी, लाखौंको क्षति
लिलाकान्त यादव,
राजविराज, २५ फाल्गुन ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल मा सोमबार विद्युत सर्ट भई आगलागी हुँदा करिब २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बिहान करिब ११ बजेतिर अस्पतालको डेन्टल ओपिडीबाट सुरु भएको आगो छेउमै रहेको रेकर्ड कोठासम्म फैलिएको थियो। आगलागीबाट डेन्टल तथा रेकर्ड विभागमा रहेका विभिन्न उपकरण र सामग्री जलेर नष्ट भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेश मिश्र का अनुसार आगलागीबाट ३ वटा डेन्टल मेशिन, २ वटा कम्प्रेसर मेशिन, ३ वटा डेन्टल चेयर, १ वटा फ्रिज, ७ वटा पंखा तथा अन्य सामग्री जलेर नष्ट भएका छन्।
डेन्टल विभागमा कार्यरत डा. दिपाली झा ले बिरामी जाँच गरिरहेकै बेला डेन्टल चेयरमा विद्युत सर्ट भई आगो सुरु भएको बताएकी छन्। आगो फैलिन थालेपछि अस्पतालमा केहीबेर बिरामी र आफन्तबीच भागदौड मच्चिएको थियो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल को टोली तथा दुई वटा बारुणयन्त्रको सहयोगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।
घटनापछि प्रतिनिधिसभा सदस्य रामजी यादव र डा. अंकिता ठाकुर अस्पताल पुगेर क्षतिको विवरण लिएका छन्। उनीहरूले अस्पतालको सेवा सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।