ई-मधेश न्युज
मधेशको राजनीतिमा उपेन्द्र यादवः उपलब्धि, अपेक्षा र यथार्थ
शम्भु यादव,
मधेश आन्दोलनपछि राष्ट्रिय राजनीतिमा प्रभावशाली रूपमा स्थापित भएका उपेन्द्र यादव लाई मधेशी अधिकारको मुख्य प्रवक्ता मानिन्छ। संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र आरक्षण जस्ता मुद्दालाई संस्थागत गराउन उनले खेलेको भूमिका उनका समर्थकहरूले ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गर्छन्। मधेश प्रदेश नामाकरण, जनकपुरधामलाई राजधानी बनाउने प्रक्रिया, नागरिकता समस्यामा पहल तथा कृषि र प्राविधिक विश्वविद्यालय स्थापना जस्ता विषयलाई पनि उनको नेतृत्वसँग जोडेर हेरिन्छ।
विशेषगरी नागरिकता विधेयक र राज्यविहीनताको समस्यामा पहल गर्दै लाखौं मधेशी समुदायलाई कानुनी पहिचान दिलाउन उनले दबाब सिर्जना गरेको दाबी गरिन्छ। मधेशी विरोधी भूमि अध्यादेश र विधेयक फिर्ता गराउन उनले अहम भूमिका खेलेका थिए। मधेश आन्दोलनका उपलब्धिहरूलाई संविधानमार्फत सुनिश्चित गराउने प्रयासलाई दीर्घकालीन राजनीतिक सफलताको रुपमा हेर्न सकिन्छ । साथै, मधेशको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न उनले निरन्तर आवाज उठाएको भनाइ पनि छ।
केही विश्लेषकहरूका अनुसार आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिलाई आर्थिक समृद्धि र रोजगारीमा रूपान्तरण गर्न पर्याप्त प्रगति गर्नलाई अथक प्रयास गरेका छन । मधेशमा पूर्वाधार विकास, औद्योगिकीकरण, सुशासन र सेवा प्रवाह सुधारको गति अपेक्षाअनुसार नदेखिएकोमा गतिशिल अवस्थामा ल्याएको सर्वविदित छ ।
यसरी हेर्दा उपेन्द्र यादवको राजनीतिक यात्रा उपलब्धि मुलक देखिन्छ । मधेशको राजनीतिक चेतनालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउनु ठूलो उपलब्धि भए पनि अबको प्रश्न अधिकारको संस्थागत प्रयोग र जनजीवनमा देखिने परिणामसँग जोडिएको छ। भविष्यमा मधेशको राजनीति पहिचानको बहसभन्दा अघि बढेर आर्थिक समृद्धि, सुशासन र अवसर सिर्जनातर्फ केन्द्रित हुन सके मात्र विगतका उपलब्धि पूर्ण अर्थमा सफल मानिनेछ ।