emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

आमलकी एकादशी व्रत : धार्मिक विश्वास, पौराणिक कथा र आध्यात्मिक महत्व

source e-Madhesh २०८२ फाल्गुन १५ गते , शुक्रबार
0
Shares
84
Views
आमलकी एकादशी व्रत : धार्मिक विश्वास, पौराणिक कथा र आध्यात्मिक महत्व

 

महाशिवरात्रि र होलीको बीचमा पर्ने फाल्गुन शुक्ल पक्षको एकादशीलाई आमलकी एकादशी भनिन्छ। यस दिन अमलाको वृक्षलाई भगवान् विष्णुको स्वरूप मानी पूजा–आराधना गर्ने परम्परा रहिआएको छ। हिन्दु धर्मग्रन्थमा अन्य एकादशीझैँ यस व्रतलाई पनि अत्यन्त पुण्यदायी र फलदायी मानिएको छ।
पौराणिक कथाअनुसार राजा मान्धाता र वशिष्ठ मुनीबीचको संवादमा आमलकी एकादशीको महिमा वर्णन गरिएको पाइन्छ। वशिष्ठ मुनीको प्रेरणाबाट राजा मान्धाताले नियमित रूपमा यो व्रत गर्न थालेका थिए। विष्णु पुराणमा उल्लेख भएअनुसार भगवान् विष्णुको दिव्य मुखबाट निस्किएको तेजोमय अंश पृथ्वीमा झरेर अमलाको वृक्षका रूपमा उत्पन्न भएको विश्वास छ। त्यसैले अमलालाई विष्णुको प्रतीक र पवित्र फलका रूपमा मानिन्छ।
आयुर्वेदमा अमला ‘त्रिफला’मध्येको एक प्रमुख फल हो। यसले शरीरका विभिन्न रोग निवारण गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र दीर्घायु प्रदान गर्ने विश्वास गरिन्छ। धार्मिक कार्यमा अमलाको पात, फल र हाँगाको प्रयोग गरिनु यसको पवित्रतासँग जोडिएको छ।
एकादशी महात्म्यमा वर्णित कथाअनुसार एक हिंस्रक सिकारीले अनायासै आमलकी एकादशीको दिन व्रत र जागरणमा सहभागी हुँदा उसको पाप नाश भई पुनर्जन्ममा राजा चित्रसेनका रूपमा जन्मिएको उल्लेख छ। पूर्वजन्मको व्रतको प्रभावले संकटमा भगवान् विष्णुले रक्षा गरेको कथाले यस व्रतको आध्यात्मिक शक्ति झल्काउँछ।
धार्मिक विश्वासअनुसार आमलकी एकादशीको व्रत बस्दा सय गाई दान गरेसरह पुण्य प्राप्त हुन्छ। व्रत बस्न नसक्नेहरूले स्मरण मात्र गरे पनि पुण्य लाभ हुने मान्यता छ। स्वर्ग र मोक्ष प्राप्तिको कामनाका लागि यो व्रत विशेष फलदायी मानिन्छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार