ई-मधेश न्युज
असल शासन पोष्टको रजत समारोह भव्य रूपमा सम्पन्न
ईमधेश न्युज सम्वाददाता,
नेपालगन्ज, ०८ फाल्गुन ।
सुशासनको विषयलाई प्राथमिकता दिँदै निरन्तर प्रकाशन हुँदै आएको असल शासन पोष्ट साप्ताहिक पत्रिकाले आफ्नो रजत वर्ष नेपालगन्जमा भव्य कार्यक्रमका बीच मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि निर्वतमान प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा रहेका थिए।
पत्रिकाका सम्पादक नमस्कार शाहको अध्यक्षतामा सम्पन्न समारोहमा पत्रिका प्रकाशनमा निरन्तर सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। उत्कृष्ट विज्ञापनदाताका रूपमा अमृत बुक्स एन्ड स्टेशनरी नेपालगन्ज र ब्राइटल्याण्ड स्कुल नेपालगन्ज सम्मानित भए। उत्कृष्ट पाठकका रूपमा माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइराला र दिदीबहिनी समाज बाँकेका अध्यक्ष रमा देवी शाहलाई सम्मान गरिएको थियो। साथै, पूर्व सह–सम्पादक भाईराजा श्रीवास्तव र ओबिराज आचार्यलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राणाले सुशासनका पक्षमा सशक्त पत्रकारिता आवश्यक रहेको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध कडा सामाजिक बहिष्कारको आवश्यकता औंल्याए। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रिकाको निष्पक्ष भूमिकाको प्रशंसा गरे।
कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक मन भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य कार्यकारी सम्पादक हेमराज भट्टले राखेका थिए। एक सयभन्दा बढीको सहभागिता रहेको समारोहमा सुशासन प्रवद्र्धनमा पत्रिकाले खेलेको भूमिकाको व्यापक प्रशंसा गरिएको थियो।