ई-मधेश न्युज
दुई तिहाइको दम्भले देश असहज अवस्थामा पुग्यो: उपेन्द्र यादव
उमेश कुमार यादव,
राजविराज, ०८ फाल्गुन ।
उपेन्द्र यादवले कांग्रेस–एमालेको दुई तिहाइको दम्भका कारण देश असहज अवस्थामा पुगेको बताएका छन्। जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका यादवले बिहीबार शम्भुनाथ नगरपालिका–७ भगवतपुरमा आयोजित कार्यक्रममा बोल्दै फरक विचार र सिद्धान्त बोकेका ठूला दलहरू सत्तामा मिल्नु नै गलत अभ्यास भएको टिप्पणी गरे।
सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका उनले भने, “कांग्रेस–एमालेको दुई तिहाइको दम्भले जनताप्रति जिम्मेवारी वहन गर्न सकेन। सेवा, सुविधा र सुशासन दिन नसक्नु सरकारको असफलता हो।” अतिवाद र तानाशाही प्रवृत्तिका कारण पछिल्लो राजनीतिक असन्तोष र विद्रोहको अवस्था सिर्जना भएको जिकिर गर्दै त्यसको जिम्मेवारी ठूला दलले लिनुपर्ने उनले बताए।
मधेश जनविद्रोहबाट प्राप्त उपलब्धि व्यवहारमा पूर्ण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले विगतका जनप्रतिनिधिलाई विकास र योगदानबारे प्रश्न गर्न जनतालाई आग्रह गरे। सङ्घीय शासन व्यवस्था समाप्त पार्न केही शक्तिहरूले भ्रम फैलाइरहेको आरोप लगाउँदै उनले शोषित, उत्पीडित र उपेक्षित समुदायको अधिकारका लागि जसपा नेपाललाई सशक्त बनाउन अपिल गरे।
कार्यक्रमसँगै भगवतपुर, भंगहा, जमुवा र मोहनपुरलगायत गाउँमा घरदैलो अभियानसमेत सञ्चालन गरिएको थियो।