ई-मधेश न्युज
घोषणा पत्रमा दलित र जेन–जी मुद्दा नसमेटिए चुनाव बहिष्कार गर्ने चेतावनी
ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, ०७ फागुन ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणा पत्रमा दलित, अल्पसंख्यक तथा जेन–जी (जनरेशन–जेड) युवाहरूका मुद्दा समावेश नगरिएको भन्दै सरोकारवालाहरूले कडा असन्तुष्टि जनाएका छन्। उनीहरूले यस्ता उम्मेदवार र दलविरुद्ध चुनाव बहिष्कार अभियान सञ्चालन गर्ने चेतावनी दिएका छन्।
बुधबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा जेन–जी अभियन्ता, दलित अधिकारकर्मी तथा कानुन व्यवसायीहरूले संयुक्त रूपमा दलहरूको घोषणापत्रप्रति आपत्ति जनाएका हुन्। जेन–जी अगुवा विवेक थापाले ‘नयाँलाई भोट’ भन्ने चुनावी नारामाथि प्रश्न उठाउँदै लामो समयदेखि सत्तामा रहेका दलहरूलाई नयाँको आवरणमा प्रस्तुत गर्नु भ्रमपूर्ण रहेको बताए। उत्पीडित समुदायको मुद्दा नसमेट्ने दललाई समर्थन नगर्ने स्पष्ट चेतावनी उनले दिए।
५३ दिन अनसन बसेकी जेन–जी अभियन्ता सरिस्मा थापाले जेन–जी आन्दोलनपछि बनेको सरकारले आफ्ना माग सम्बोधन नगरेको आरोप लगाइन्। उनले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरी निर्वाचनमा जानु अर्थपूर्ण नहुने बताइन्। “जेन–जी युवाको आँखामा पट्टी बाँधेर भोट हाल्न लगाइँदैछ, त्यो हामीलाई स्वीकार्य छैन,” उनले भनिन्। भदौ २३ र २४ का घटनाबारे सत्य सार्वजनिक नभएसम्म मतदान नगर्ने चेतावनीसमेत उनले दिइन्।
दलित गैरसरकारी महासंघका अध्यक्ष जेभी विश्वकर्माले संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि धारा २४ र ४० अनुसारका दलित अधिकारसम्बन्धी कानुन निर्माण नभएको उल्लेख गरे। “दलितको भोट चल्छ, तर पानी चल्दैन,” भन्दै उनले दलित समुदायलाई केवल मतदाताका रूपमा प्रयोग गरिएको आरोप लगाए। आगामी निर्वाचनमा दलित मुद्दा स्पष्ट रूपमा नसमेट्ने उम्मेदवारलाई बहिष्कार गरिने उनले बताए।
अधिवक्ता चक्रमान विश्वकर्माले संसद विकास योजना बाँड्ने थलो नभई सामाजिक न्याय सुनिश्चित गर्ने संस्था भएको उल्लेख गर्दै घोषणापत्रमा न्याय, समानता र संवैधानिक अधिकार कार्यान्वयनको ठोस कार्यक्रम आवश्यक रहेको बताए।
कार्यक्रममा वक्ताहरूले नयाँ संसद सामाजिक न्याय, समावेशिता र उत्पीडित समुदायका अधिकारप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै मतदातालाई सचेत निर्णय लिन आग्रह गरेका छन्।