ई-मधेश न्युज
अधिकारसम्पन्न संघीयता र मधेशको मुक्तिका लागि जस्तोसुकै संघर्ष गर्न तयार: उपेन्द्र यादव
उमेश कुमार यादव,
राजविराज, ०७ फाल्गुन ।
उपेन्द्र यादव ले अधिकारसम्पन्न संघीयता र मधेशको मुक्ति आफ्नो पार्टीको मूल लक्ष्य रहेको बताएका छन्। जनता समाजवादी पार्टी, नेपाल का अध्यक्षसमेत रहेका उनले उक्त लक्ष्य प्राप्तिका लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको स्पष्ट पारे।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–पत्थरगाडामा बुधबार आयोजित युवा विद्यार्थीहरूको क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले संघीयता मधेश जनविद्रोहबाट स्थापित भएको दाबी गरे। “संघीयता कांग्रेस र एमालेको एजेन्डा थिएन, अझै पनि उनीहरूले चाहेका छैनन्,” उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीले त प्रदेशमा उम्मेदवारसमेत नउठाएर संघीयता खारेज गर्ने संकेत दिएको छ।”
देशमा पहिचानका आधारमा नामकरण भएको प्रदेश मधेश मात्र रहेको उल्लेख गर्दै उनले अन्य प्रदेशलाई नदीका नामबाट राख्नु अव्यवहारिक भएको टिप्पणी गरे। मधेश प्रदेश नामकरणका क्रममा पनि अवरोध भएको स्मरण गर्दै उनले मधेश केन्द्रित दलहरूको प्रयासले मात्रै नामकरण सम्भव भएको बताए।
यादवले मधेशी तथा अन्य उत्पीडित समुदाय अझै अवसरबाट वञ्चित रहेको उल्लेख गर्दै समान अवसर र बराबरीको हिस्सेदारीका लागि संविधान संशोधन आवश्यक रहेको धारणा राखे। कार्यक्रममा विभिन्न केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको थियो। चुनावी अभियानअन्तर्गत राजगढ गाउँपालिका र आसपासका क्षेत्रमा समेत घरदैलो कार्यक्रम गरिएको जनाइएको छ।