ई-मधेश न्युज
राष्ट्रिय प्रजातन्त्र दिवसमा उपराष्ट्रपति यादवद्वारा शुभकामना
लिलाकान्त यादव,
काठमाडौं, ०७ फागुन ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ को अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उहाँले १०४ वर्ष लामो जहानियाँ निरङ्कुश शासनविरुद्ध जनताले गरेको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप २००७ साल फागुन ७ गते प्राप्त प्रजातन्त्रको ऐतिहासिक उपलब्धि स्मरण गर्नुभएको छ। सहिदहरूको अमूल्य योगदान, स्वतन्त्रताको महत्व र राष्ट्रिय एकताको सन्देशलाई आत्मसात् गर्दै मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढाउन सबैलाई आह्वान गर्नुभएको छ।
उहाँले लोकतन्त्रलाई केवल शासन प्रणाली नभई सामाजिक मूल्य, सांस्कृतिक आदर्श र नैतिक आचारसंहिताको आधारका रूपमा व्याख्या गर्दै संविधानमा निहित संघीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ।
साथै, विभिन्न जनआन्दोलन र संघर्षमा जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपराष्ट्रपतिले लोकतान्त्रिक मूल्य र आदर्शलाई जोगाउँदै शान्ति, स्थिरता र जनजीवनमा गुणात्मक सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।