ई-मधेश न्युज
शम्भुनाथमा उपेन्द्र यादवको घरदैलो, मतदाताका गुनासा सुन्दै विकासको प्रतिबद्धता
ईमधेश न्युज सम्वाददाता,
राजविराज, ०५ फाल्गुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार तथा जनता समाजवादी पार्टी, नेपाल का अध्यक्ष उपेन्द्र यादव ले मंगलबार घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।
शम्भुनाथ नगरपालिकाका नरहैया, सखुवा, नरही, सिरकजरी, खोक्सर, कनकपट्टी तथा कठौना बजारलगायत क्षेत्रमा पुगेर उनले मतदातासँग भेंटघाट गर्दै मत मागेका हुन्। पार्टीका केन्द्रीय सचिव तथा क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहका अनुसार अभियानका क्रममा स्थानीय समस्याबारे व्यापक गुनासो आएको छ।
मतदाताले बाटोघाटो निर्माण नहुनु, विद्यालय र अस्पतालमा गुणस्तरीय सेवा अभाव, बिटौरी जग्गा समस्या, कठौना–पातो सडक निर्माणमा ढिलाइ, बेरोजगारी, सिंचाइ तथा मलखाद अभावजस्ता मुद्दा उठाएका छन्। विगतका जनप्रतिनिधिले विकास र जनअधिकारका सवालमा पर्याप्त ध्यान नदिएको उनीहरूको गुनासो छ।
अध्यक्ष यादवले संविधान संशोधनमार्फत बाँकी अधिकार प्राप्ति र क्षेत्रीय विकासका लागि आफू प्रतिबद्ध रहेको बताए। मधेशबाट ठूलो राजस्व संकलन भए पनि न्यून बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै उनले समुचित बजेट व्यवस्थापन आवश्यक रहेको धारणा राखे।
घरदैलो कार्यक्रममा केन्द्रीय नेता तथा पूर्वमन्त्री रेणु कुमारी यादवलगायत विभिन्न नेताहरू सहभागी थिए। सप्तरी–३ मा एक लाख ११ हजार ८ सय ७१ मतदाता रहेका छन्।