emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार

source e-Madhesh २०८२ माघ २५ गते , आइतबार
0
Shares
20
Views
नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार


ईमधेश नयूज सम्वाददाता,
काठमाडौं, २५ माघ ।
 कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले नेपाली लोकसंस्कृतिका साधक तथा सुदूरपश्चिमका प्रख्यात देउडा गायक नन्दकृष्ण जोशीलाई ‘कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरेको छ। प्रतिष्ठानको ३४औँ स्मृति दिवसको अवसरमा आयोजित विशेष समारोहबीच उनलाई सम्मान गरिएको हो।
प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्व तथा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जोशीलाई खादा, माला, दोसल्ला र सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो। कार्यक्रममा अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक तथा पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक महेश्वर पन्त, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.लगायतले सम्मान प्रदान गरेका थिए।
समारोहमा कालीभक्त पन्तको योगदानबारे वक्ताहरूले चर्चा गरेका थिए। अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले पन्तको धार्मिक, सांस्कृतिक तथा सामाजिक योगदान उल्लेख गर्दै उनलाई नेपाली लोकसाहित्यको विशिष्ट व्यक्तित्वका रूपमा स्मरण गरे।
पुरस्कृत जोशीले यो सम्मानलाई पुरस्कार मात्र नभई पितृआशीर्वादको रूपमा ग्रहण गरेको बताए। उनले देउडा गीत प्रस्तुत गर्दै समारोहमा उपस्थितलाई मन्त्रमुग्ध बनाएका थिए। कार्यक्रममा छात्रवृत्ति तथा महिला सम्मान पुरस्कारसमेत घोषणा गरिएको थियो। विभिन्न साहित्यकार, कलाकार र विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोह जीपी तिमिल्सिना फाउण्डेशनको सभा हलमा सम्पन्न भएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार