ई-मधेश न्युज
तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै मधेश सरकार पूर्ण
ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, १६ पौष ।
मधेश प्रदेश सरकारले अन्ततः पूर्णता पाएको छ। सरकार गठन भएको करिब एक महिनापछि मुख्यमन्त्री कृष्ण यादवले तेस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश सरकारलाई पूर्ण आकार दिएका हुन्।
आज गरिएको मन्त्रिपरिषद् विस्तारसँगै मुख्यमन्त्री यादवसहित प्रदेश सरकार १२ सदस्यीय बनेको छ। यसअघि अपूरो अवस्थामा रहेको मन्त्रिपरिषद् ६ जना नयाँ मन्त्री समावेश भएपछि पूर्ण भएको हो, जसले सरकारको कार्यक्षमता र निर्णय प्रक्रियालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले जनकपुरधाममा आयोजित समारोहमा उनीहरूलाई शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मन्त्रिपरिषद् विस्तारअनुसार मनिष सुमन श्रम तथा यातायात मन्त्री, राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री, शंकरप्रसाद चौधरी वन तथा वातावरण मन्त्री, श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री तथा फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्री बनेका छन्।
मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पूर्णतासँगै अब प्रदेश सरकार विकास, सुशासन र जनजीविकाका सवालमा प्रभावकारी रूपमा काम गर्ने बताएका छन्। उनले प्रदेशको समृद्धि र जनताको अपेक्षा पूरा गर्न सबै मन्त्रीहरू एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।