ई-मधेश न्युज
अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस: उपराष्ट्रपतिको शुभकामना
लिलाकान्त यादव,
काठमाडौं, १७ मंसिर ।
अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस, २०२५ का अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले देश–विदेशमा रहेका फरक क्षमताका नागरिकहरूलाई शुभकामना व्यक्त गर्दै समावेशी समाज निर्माणमा सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
प्रत्येक वर्ष डिसेम्बर ३ मा मनाइने यस दिवसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र समानताको प्रत्याभूति दिलाउने अवसर हुने उल्लेख गर्दै उपराष्ट्रपति यादवले सामाजिक, शैक्षिक, संरचनागत तथा अवसरजन्य बाधाहरू हटाउन राज्य, समाज र व्यक्तिको सामूहिक प्रयास आवश्यक रहेको बताए।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित सम्मानजनक जीवन, समान पहुँच र सार्वजनिक सेवामा बराबरी अवसरको ग्यारेन्टी गरेको भन्दै उनले यी प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै जिम्मेवार पक्ष सजग हुनुपर्नेमा जोड दिए।
उपराष्ट्रपति यादवले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र योगदानलाई राष्ट्रनिर्माणमा उपयोग गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताए। समाज सबैका लागि न्यायपूर्ण, समावेशी र संवेदनशील बन्नु आजको आवश्यकता भएको उनले टिप्पणी गरे।
विशेष दिवसले फरक क्षमताका व्यक्तिहरूको जीवनस्तर सुधार्न, अधिकार संरक्षण गर्न र सबै क्षेत्रमा समावेशी सहभागिता सुनिश्चित गर्न थप प्रेरणा मिलोस् भन्ने शुभकामना उनले व्यक्त गरेका छन्।