

ईमधेश न्यूज जनकपुरधाम, १७ मंसिर ।
मधेश प्रदेशमा लागूऔषध विरुद्धको अभियान सुरु भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार महोत्तरीको बर्दिबासमा लागूऔषध विरुद्धको अभियानको उद्घाटन गर्नुभयो ।
मधेश प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको लागूऔषध विरुद्धको अभियानको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री यादवले यो अभियानलाई सहयोग गर्न अभिभावकहरुमा आग्रह गर्नुभएको छ ।
अभिभावकले आफ्नो सन्तानको निगरानी गर्नुपर्छ, उहाँले भन्नुभयो– सन्तानको निगरानी गरेपछि लागूऔषध र्दुव्यसनीको संख्या घटनेछ । छोरा घरबाट निस्किने र फर्किने समयको निगरानी गर्नुस् ।
छोरा पक्राउ परेपछि छुटाउनमा लाग्नुभन्दा लागूऔषध सेवन नै नगर्ने गरी निगरानी गर्न मुख्यमन्त्री यादवले अभिभावकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गृह, संचार तथा कानुन मन्त्री मोहम्मद समिमले लागूऔषधले बुवाआमाको सपनामा पानी खन्याएको जिकिर गर्नुहुँदै यो अभियानमा सहयोगको लागि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–लागूऔषधले समाजमा विकृति बढाएको छ । प्रदेश सरकारको यो अभियानमा सबै पक्षको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
मधेश प्रदेशको आठै जिल्लामा लागूऔषधको कुलतमा लागेका युवाहरुलाई मनोपरामर्श दिइने लगायतको कार्यक्रमहरु गरिने मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका पूर्व गृह तथा संचारमन्त्री एवम् प्रदेशसभा सदस्य भरतप्रसाद साह, प्रदेशसभा सदस्य शारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्री लगायतले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
