emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

महाकवि विद्यापतिः भक्तिकाव्यका अमर कोकिल

source e-Madhesh २०८२ कार्तिक १८ गते , मंगलबार
0
Shares
91
Views
महाकवि विद्यापतिः भक्तिकाव्यका अमर कोकिल

 

श्रीमन नारायण,
मैथिली भाषाका महाकवि विद्यापतिको जन्म विक्रम सम्वत १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको बिहार प्रान्तको दरभङ्गा जिल्लाको विसफी भन्ने गाउँमा भएको थियो ।
विद्यापतिको अवसान भएको कार्तिक धवल (शुक्ल) त्रयोदसीको दिनलाई विद्यापति स्मृति दिवको रूपमा मनाउने गरिन्छ । कवि कोकिल विद्यापतिलाई नेपाल र मिथिला भारतको बिहार, पश्चिम बङ्गाल र अन्य क्षेत्रमा पनि राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्ने गरिन्छ । त्यहाँ उनी धरोहरको रूपमा सम्मानित र पूज्य छन् । 
महाकवि विद्यापतिलाई बङ्गालीहरूले पनि आफ्नो कवि ठान्दछन् जबकि नेपाली भाषा–साहित्य तथा संस्कृतिमा पनि विद्यापतिको प्रभाव परेकै हो । विद्यापति अलौकिक प्रतिभा र आँसु कवित्व शक्तिका थिए । विद्यापति पदावलीका अनेकौँ पदमा नेपाली शब्दहरूको प्रयोग भएको पाइन्छ । उनी विशेष गरी शृङ्गार कवि भएकाले राधा–कृष्ण कै शृङ्गार लीलाको बढी वर्णन गरेका छन् । 
शैव भएर पनि यिनी एकै ईश्वरका रूपमा सम्झी शिव, विष्णु, देवी, सूर्य र गणेश सम्झी पंचदेवोस्ना पनि गर्दथे । उदाहरणका निम्ति प्रत्येक घर र मन्दिरमा बिहान–बिहान बजाइने र गाइने यो शिवभजन अधिकांशलाई कण्ठस्थ नै भएको हुनुपर्छ ।
जय जय भैरवी असुर भयावनि,
पशुपति–भामिनी माया
सहज सुमति वर दिअओ गोसाउनि
अनुगति गति तुअ पाया ११
यिनको एकान्त भक्तिवाट अत्यन्त प्रसन्न भई साक्षात् महादेव नै उगना नामधारी मनुष्य भई यिनका नोकर बनेका थिए । एक दिन उगनालाई साथमा लिई जङ्गलको बाटो हिँडिरहेका बखत विद्यापतिलाई तिर्खा लागेको रहेछ । विद्यापतिले आफ्ना नोकरलाई जहाँबाट भए पनि पानी ल्याउन आदेश गरेछन् ।
त्यो सुनसान जङ्गलमा पानी पाउने सम्भावना कोसौँ टाढासम्म थिएन तर उगनाले गुप्त स्थानमा गएर आफ्नै टाउकोबाट गङ्गाजल निकाली विद्यापतिलाई खान दिएपछि विद्यापतिले ‘यो त गङ्गाजल हो, तिमी को हौ ? गङ्गाजल कहाँबाट ल्याइस ? उगनाले साक्षात् महादेवको रूपमा प्रकट भए तथा यस वास्तविकताबारे कसैलाई पनि नबताउने सर्तमा विद्यापतिको नोकरकै रूपमा काम गर्न थाले । रहस्योद्घाटन हुने बित्तिकै आफू त्यहाँबाट विलिन हुने सर्तमा उगनाले विद्यापतिको दासको रूपमा काम गर्न थाले ।
एक दिन विद्यापतिकी श्रीमतीले उगनालाई कुनै सामान ल्याइदिन आग्रह गरिन् । उगनाले त्यो सामान ल्याउन ढिलो गरेपछि विद्यापतिकी श्रीमतीले रिसले चुर हुँदै दाउराको चिर्कटाले उगनालाई बेस्सरी ठटाउन थालिन् ।
यस अनर्थलाई खप्न नसकी अनामश विद्यापतिको मुखबाट भन्न नहुने शब्द निस्केछ ‘साक्षात् महादेव माथि यस्तो प्रहार ?’ उनी यति मात्रै के भनेका थिए, उगना त्यहाँबाट अन्तरध्यान भइहाले । महादेव (उगना) को वियोगमा विह्वल भएर विद्यापतिले उनलाई खोज्दै मैथिली भाषामा सर्वाधिक गाइने भजनको रचना गरे ।
उगना रे मोरा कतय गेला ?
कतय गेला शिव कीदहुँ भेला ११
बिहार सरकारले सन् १९६६ देखि नै विद्यापति टिकट पनि प्रचलनमा ल्याएको छ । हाम्रो देशमा पनि विद्यापतिको टिकट चलनमा आएको दशकौं भइसकेको छ । भारत सरकारले त्यहाँको संविधानको आठौं अनुसूचीमा नेपालीसँगै मैथिली भाषालाई पनि राष्ट्रभाषाको रूपमा मान्यता दिएको छ । नेपालको यो दोस्रो ठूलो भाषा हो ।
नेपालको सरकारी समाचारपत्र ‘गोरखापत्र’ राष्ट्रिय नेपाली दैनिकले मैथिली भाषाको उन्नयनका लागि ‘नयाँ नेपाल’ पृष्ठमा महिनामा दुई पटक मैथिली भाषामा पनि एक पृष्ठको समाचार र विचार प्रकाशित गर्दै आएको छ । मैथिलीको आफ्नो छुटै तर गौरवशाली इतिहास छ, लिपी पनि छ । व्याकरण र साहित्यको क्षेत्रमा पनि यो भाषा धनी नै देखिन्छ ।
भनिन्छ, आफ्नो कविता वाचनद्वारा नै विद्यापतिले मुगल शासकद्वारा पक्राउ गरिएका आफ्ना राजाको रिहाइ गराएका थिए । विद्यापति मिथिलाका राजाका कवि थिए । मिथिलाका प्रकाण्ड विद्धान हरि मिश्र यिनका गुरु थिए ।
विद्यापति शृङ्गार, सौन्दर्य, वीरता भक्तिका पनि कवि थिए । राजा शिव सिंहका यिनी दरवारी कवि थिए । विद्यापतिले मैथिली भाषामा श्रीमद् भागवत पनि लेखेका छन् जसको नाम ‘भागवत पाथी’ रहेको छ ।
प्रकृतिको वर्णनमा यिनको कल्पनाले आकाश छोए जस्तो लाग्दछ । यिनका बसन्त र वर्षाको वर्णन दत्तचित्त भई सम्झेको खण्डमा परमानन्दको अनुभव हुने गर्दछ । मिलन, विरह, प्रेम र मान आदिको वर्णन पनि अवर्णनीय चमत्कारले परिपूर्ण छ ।
तीर्थस्थानमा जाने आउने बेलामा विहा–बटुला आदिका मंगलमय समयमा र देव–देवी मन्दिरमा गई दर्शन गर्ने समयमा समेत गाइने विद्यापतिका रचनाहरू कर्णप्रिय र चित्ताकर्षक हुने गर्दछ ।
पदावलीकै चमत्कारिताले आफ्ना तत्कालीन राजाहरूबाट यिनले नवजयदेव, कविशेखर, कविकण्ठहार, कवि रन्जन, दशवधान र कोमल–कान्त पद–चमत्कृत कवि वृन्दवाट “कवि कोकिल” भन्ने समेत ६ वटा पदवी प्राप्त गरेका थिए ।
मिथिला क्षेत्रमा त्यतिवेला विद्यमान बेमेल विवाह प्रति कटाक्ष गर्दै विद्यापतिले एउटा युवतीको विहे अपेक्षाकृत किशोर बालक सँग हुन पुग्दा ती महिलाको व्यथालाई यसरी व्यक्त गरेका छन् ।
पिया मोरा बालक हम तरुनी १
कोन तप चुकलौंह भेलौह जननी ११
श्री कृष्ण र राधाको नोकझोक (छेडछाड) मा आधारित गीत पनि धेरै छन् । त्यसैगरी श्रीकृष्णकी प्यारी राधाले श्रीकृष्णलाई आफ्नो बाटो नरोक्न र घर जान दिन आग्रह गर्दै भन्छिन् ।
कुन्ज–भवन सँ निकसलि रे,
रोकन गिरिधारी १
एकही नगर वस माधव हे,
जनिकर बट–मारी ११
छाडु कन्हैया मोर आँचर रे,
फाटत नव सारी
अपजन होएत जगत भरि हे,
जनि करिअ उधारी ।
संगक सखि अगुआईलि रे,
हम एकसरि नारी ।
दामिनी आए तुलाएल हे १
एक रात अंधारी ११
भनहि विद्यापति गाओल रे 
सुन गुनमति नारी ।
हरिक सँग–किछु डर नही हे । 
तोहे परम गमारी ।।
(विद्यापति गाउँछन, हे गुणी
नारी कृष्ण सँग भए पछि के को डर ?
मूर्ख जस्तो नगर न ।)
त्यसैगरी भावोल्लासमा परदेश गएका आफ्नो श्रीमानको आगमनबारे शुभ–सूचना दिन कागलाई आग्रह गर्दछिन् र चुच्चोमा सुन बाँधी दिने लोभ पनि दिन्छन् ।
मोरा रे आँगनमा चनन केर गछिया,
ताहि चढि कुररए काग रे ।
सोने चोच बाँधिदेव तोए बायसा
जओ पिया आओत आज रे ।।
भावोल्लास कै एउटा अर्को पनि सुन्दर रचना यस किसिमको रहेको छ ।
सुतलि छलहु हम घरवा रे 
गरवा मोति हार ।
राते जखन भिन्सरवा रे ।
पिया आएल हमार ।।
कर कौमल कर कपईत रे ।
हटवा उर टार ।
कर पंकज उर थपइत रे ।
मुख–चन्द निहार ।।
केहन अभागलि बैरिनी रे ।
भागलि मोर निन्द ।
राति बिहानी पख लोग्ने आएको सपना देखिरहेकी आइमाइले आफ्नो लोग्नेको स्वागत गर्दै मिठो–मिठो कल्पना गरिरहेकी थिइन कि त्यतिकै निद्रा भंग हुन्छ र उनी आफूलाई अभागी ठान्दछे ।
विद्यापतिले गंगा स्तुति पनि लेखेका छन् ः
बड सुख पाओल तुअ तीरे ।
छोडईत निकट नयन बह नीरे ।।
करजोरि विनयओ विमल तरंगे ।
पुन दासन होए पुनमति गंगे ।।
एक अपराध छेमव मोर जानी ।
परसल माए तुअ पानी ।।
कि करब जप तप जोडा धेआने ।
जनम कृतारथ एकहि सनाने ।।
भनइ विद्यापति समदओं तोडी ।
अन्तकाल जनु विसरह मोही ।।
आफ्नो जीवन त्याग गङ्गा नदी नजिक गरेका विद्यापतिले पवित्र गङ्गाबाट टाढा हुँदा आफ्नो अश्रुधारा बग्ने गरेको प्रार्थना गर्दै एक्लो गंगा स्नान नै जप, तप योग र ध्यान भन्दा ठूलो कुरा हुन्छ भनेका छन् । पटक पटक तिम्रो दर्शन गर्न पाउँ भन्दै उनले गंगालाई आमा भन्दै आफूलाई छोरा बताएका छन् । विद्यापतिका कालजयी रचना अथाह सम्पति र धरोहर छन् । महाकवि विद्यापतिको नाममा देशमा धेरै संघसंस्था खुलेका छन तर ती सबै औपचारिकतामा मात्रै सीमित छन्, प्रचार पाउनका लागि गठन भएका छन् । विद्यापतिको नाममा ठाउँ ठाउँमा चन्दा बटुल्ने काम मात्रै भएको छ । 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव